प्रस, गरुडा, १३ असोज/
रौतहट, राजदेवी नगरपालिकाका ९८ जना मोतीबिन्दुका बिरामीको निश्शुल्क शल्यक्रिया भएको छ । गौर आँखा अस्पतालले निश्शुल्क आँखा शिविर सञ्चालन गरेर ९८ जना मोतीबिन्दुका बिरामी फेला पारेको थियो । राजदेवी नपा–९ ब्रह्मपुरीमा गौर आँखा अस्पतालले निश्शुल्क आँखा परीक्षण शिविर गर्दा सयजनाभन्दा बढीमा मोतीबिन्दु देखा परेको र तीमध्ये ९८ जनाको शल्यक्रिया गरिएको बताएको छ ।
मोतीबिन्दु भएका सबैजनालाई गौर आँखा अस्पतालमा डाकेर तीन दिन थप परीक्षण गरिएको र आँखाको शल्यक्रिया गर्न जरुरी देखिएका ९८ जनाको शल्यक्रिया गरिएको स्थानीय नवीन सिंहले बताए । मोतीबिन्दु भएका अन्यमा उच्च रक्तचाप र मधुमेह देखिएकाले तत्काल शल्यक्रिया गर्न नसकिएको अस्पतालले बताएको छ ।
जीराभवानीमा निश्शुल्क आँखा शिविर
प्रस, सेढवा/
जीराभवानी गाउँपालिका–३ जीतपुरमा बुधवार निश्शुल्क आँखा शिविर सम्पन्न भएको छ । लाटोमाई सेवा समितिको आयोजना तथा वडाध्यक्ष उमेशकुमार सिंहको सहयोगमा निश्शुल्क आँखा शिविर सम्पन्न भएको हो । शिविरमा वडाका सहजानपुर, नौकाटोला, जीतपुर र परसवाका करीब २५० जना सर्वसाधारणको आँखा जाँच गरी निश्शुल्क औषधि र केहीलाई सहुलियतमा चश्मा वितरण गरिएको थियो । शिविरमा मोतीबिन्दुको समस्या देखिएकाहरूको सहुलियतमा शल्यक्रिया गरिने बताइएको छ । शिविरमा नारायणी आई केयरका डा बिडी चौरसियाको टोलीले आँखा जाँच गरेको थियो ।
कार्यक्रम लाटोमाई सेवा समितिका अध्यक्ष शेखर चौधरीको अध्यक्षता तथा वडाध्यक्ष सिंहको प्रमुख आतिथ्य भएको थियो ।