प्रस, वीरगंज, ११ असोज/
जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिनेहरूको भीड दिन प्रतिदिन बढ्दै गइरहेको छ ।
दैनिक भीड बढ्न थालेपछि कार्यालयलाई व्यवस्थापन गर्न समस्या परेको छ । कर्मचारी अभाव र
साँघुरो ठाउँ भएकाले सेवाग्राहीहरू भुइँमा बस्न बाध्य छन् । नागरिकता लिनका लागि टन्टलापुरको घाममा लाइन बस्नेहरूको पसिनाले नागरिकता फाराम भिजेर थप समस्या पर्ने गरेको एकजना सेवाग्राहीले गुनासो गरे । निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन शुरू गरेपछि नागरिकता लिनेहरूको अहिले भीड बढेको सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए ।
मतदाता नामावलीमा नाम छुट भएकाहरू अहिले नागरिकता लिन एकसाथ आएपछि भीड बढेको उनले बताए । उनले दैनिक ७०/८० वटा नयाँ नागरिकता र ३०/४० वटा प्रतिलिपि वितरण गर्न भ्याएको बताए । मानिसहरू अत्यधिक आए पनि सेवा सो रूपमा सेवा प्रदान गर्न विभिन्न कारणले समस्या भइरहेको उनले प्रस्ट्याए । सबैले सरल, सहज तरीकाबाट सेवा पाऊन् भन्ने उद्देश्यका साथ सेवा प्रवाहमा गति प्रदान गरिएको पनि उनले बताए ।
मतदाता नामावली सङ्कलन शुरू भएपछि दूधेबालकसहित महिलाहरू पनि नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पर्सामा आउने गरेका छन् । निर्वाचनमा मत आफ्नो पक्षमा पार्नका लागि गाउँटोलका अगुवा नेताहरूको पहलमा वीरगंज ल्याएर नागरिकता लिन लगाउने र मतदाता नामावलीको लागि आवेदन फाराम भराउने कार्य भइरहेको छ । आफ्नो पक्षमा पार्न नागरिकता लिन छुटेका र मतदाता नामावलीमा नाम नभएकाहरूको गाउँटोलमा खोजी गर्ने अनि जिप्रकामा नागरिकताको लागि आवेदन दिन लगाउनेसम्मको खर्च नेताहरूले नै बेहोर्दैै आएको एकजना सेवाग्राहीले बताए । यस प्रकारको सेवा लिनेले सधैं आफूलाई सम्झिने हुनाले सबैजसो लोकप्रिय नेताहरूले कार्यकर्ता परिचालन गरी अहिले यो अभियान चलाएका छन् ।