प्रस, वीरगंज, ८ असोज/

ॐ श्रीहनुमान वृद्धाश्रमको सातौ साधारणसभा तथा संरक्षण परिषद्को  बैठक सम्पन्न भएको छ।

टिबडेवाला धर्मशालामा आयोजित कार्यक्रमको उद्घाटन अध्यक्ष मुर्लिधर रूङ्गटाले गरे। सो अवसरमा उनले आफू अध्यक्ष भएको बेलामैं वृद्धाश्रम निर्माण होस् भन्ने अभिप्राय राखी काम गर्दै आए पनि भूमिसुधारमा प्रमुखको नियमितता नहुँदा मोहीसम्बन्धी कामको छिनोफानो हुन नसकेर समस्या ज्यूँका त्यूँ रहेको बताए।

स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा उपाध्यक्ष श्यामकुमार पोखरेलले पनि भूमिसुधार कार्यालयबाट मोहीको छिनोफानोमा विलम्ब हुँदा वृद्धाश्रम निर्माण प्रक्रिया शुरु नसकेको बताए। उनले आर्थिक समस्या टार्ने थुप्रै दाताहरूले इच्छा जाहेर गरेको तर जग्गाको समस्याले निर्माण काम शुभारम्भ हुन नसकेको बताए।

सचिव जगदीशप्रसाद शर्माले संस्थासँग सवा करोड पूँजी रहेको, दाताहरूले सहयोगको आश्वासन दिएको  तर भूमिसुधारको प्रमुख नियमित नबस्दा समस्या भएको बताए। उनले जग्गाधनी मोही दिन तयार, मोही पनि तयार रहेको अवस्थामा मालपोत तथा भूमिसुधार कार्यालय हेर्ने हाकिम एकैजना भए पनि छिटै सरुवा हुने विभिन्न आरोपमा थुना पर्ने, कारबाईको शिकार हुनेजस्ता घटनाले जग्गाको काम अड्किएको बताए। उनले पछिल्लो हाकिम चार महिनामा चार दिन मात्र हाजिर भएका र उनलाई पनि यसबारे अवगत गराएको बताए।

साधारणसभा तथा संरक्षक परिषद्को बैठकमा सहभागीहरूले वृद्धाश्रमको लागि चार वर्षदेखि काम हुन नसकेको गुनासो गरेका थिए। उनीहरूले अन्यत्र आश्रम धमाधम खुलिरहेको तर वीरगंजमा भने ढिला भएको गुनासो पोखे।

उनीहरूको गुनासोका जवाफ दिदै सचिव शर्माले अन्यत्र खुलेका आश्रम भाडामा र अन्यसँग आश्रित हुनेगरी सञ्चालनमा आएको तर वीरगंजको वृद्धाश्रमको स्वरूप फरक हुने प्रस्ट्याए। उनले घरपरिवारमा बस्न नसक्नेहरू पनि आश्रममा बस्दा आत्मसम्मानका साथ अरूमाथि निर्भर नहुनेगरी बस्न सक्ने व्यवस्थापनमा वृद्धाश्रम सञ्चालन हुने बताए। उनले घरमा बसेका तर समय व्यतीत आश्रममा आएर दिनभर बसी जान सक्ने, वृद्धवृद्धाहरूको व्यवस्थापन सहितको आश्रम निर्माण गरिने जानकारी गराए।

कार्यक्रममा कोषाध्यक्ष हरि गौतमले आयव्यय प्रस्तुत गरेका थिए। उनले वृद्धाश्रम निर्माण कार्य शुरू नभएकोले हाल कर्मचारीको तलब दिने र संस्था नवीकरणबाहेक अन्य खर्च नभएको बताए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here