प्रस, सिम्रौनगढ, ८ असोज/
सिम्रौनगढ नगरपालिकाका सबै वडा कार्यालयहरू १२ दिनदेखि बन्दछ।
सिम्रौनगढ नपा–२ का सुमोद साहको १८ महीने बालक अनुराज गुप्ताको सर्पदंशबाट मृत्यु भएको घटनामा नगर अस्पताल तोडफोड गरिएको र केही स्वास्थ्यकर्मी तथा कर्मचारी घाइते भएको घटनालाई लिएर वडा कार्यालयहरू शुक्रवार पनि बन्द रहे। भदौ २८ गतेको घटनापछि बन्द रहेका नगर अस्पताल, नगरपालिका र वडा कार्यालयहरू अहिलेसम्म खुलेका छैनन्।
नगरपालिका कर्मचारीहरूले स्वास्थ्यकर्मी, कर्मचारीहरूमाथि कुटपिट गर्ने, अस्पताल तोडफोड गर्नेविरुद्ध कारबाई हुनुपर्ने माग राखेका छन्। सो माग पूरा नभएको भन्दै उनीहरूले १२ दिन बितिसक्दा पनि आन्दोलन जारी राखेका छन्।
जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रनाउ गौतम मिश्रले छानबीन भइरहेको र दोषीमाथि कारबाई हुने बताए। उनले कार्यालय खोल्न आग्रह गरे। घटनाबारे शुक्रवार राष्ट्रिय मानव अधिकार आयोग प्रदेश नं. २ जनकपुरधामको टोलीले अनुगमन गरेको छ।
आयोगका प्रदेश प्रमुख वीरबहादुर बुढामगरको नेतृत्वमा अधिकृत कृष्ण मिश्र र रञ्जीत कुशवाहाको टोलीले तोडफोड गरिएको अस्पताल र नगरपालिका कार्यालय र स्थानीयसँग सोधपुछ गरेको छ। १२ दिनदेखि वडा कार्यालयले सेवा बन्द गर्दा सेवाग्राही समस्यामा परेका छन्। अत्यावश्यक काम पनि वडा कार्यालयबाट नहुँदा समस्या भएको उनीहरूको गुनासो छ।