प्रस, जीतपुर, ८ असोज/
नेपाल आयल निगम, २ नं. प्रदेश इन्धन डिपो कार्यालय अमलेखगंज, बाराले ६८ दिनमा १९ करोड १३ लाख १० हजार २७ लिटर डिजेल, पेट्रोल र मटीतेल बिक्री वितरण गरेको कार्यालय प्रमुख प्रदीपकुमार यादवले बताए।
प्राप्त विवरण अनुसार २०७८ साउन महीनामा पेट्रोल २ करोड ३६ लाख ११ हजार २७ लिटर, डिजेल १६ करोड १८ लाख ९९ हजार लिटर र मटीतेल ५ लाख ८० हजार लिटर बिक्री भएको छ। बारा, पर्सा, रौतहट, सर्लाही, मकवानपुर, चितवन, गोरखा, तनहुँ र लमजुङ जिल्लाका बिक्रेताहरूलाई सो परिमाणको इन्धन बिक्री भएको हो।
भदौमा पेट्रोल १ करोड ८ लाख लिटर, डिजेल ६ करोड ९४ लाख ८५ हजार लिटर र असोज ५ गतेसम्म ५ दिनमा पेट्रोल १६ लाख ६० हजार लिटर र डिजेल १ करोड ३३ लाख ८७ हजार लिटर बिक्री गरेको प्राप्त विवरणमा जनाइएको छ।
पेट्रोलियम पाइपलाइन जडान भएयता बन्द, हडताल आदिले गर्दा पेट्रोलियम पदार्थको ढुवानी, आपूर्तिमा कुनै कठिनाइ नभएको प्रमुख यादवले बताए। उनले माग बमोजिम पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको बताए।
भारत, रक्सौल–नेपाल–अमलेखगंज पेट्रोलियम पाइपलाइन जडान तथा सञ्चालनले पेट्रोलियम पदार्थको चुहावट र मिसावट शून्य हुँदा करोडौं नोक्सानीबाट मुक्ति पाएको प्रमुख यादवले बताए। उनले काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लाको आकस्मिक माग तथा आवश्यकता पेट्रोलियम पदार्थको सहजरूपमा आपूर्ति गर्दै आएको बताए। पेट्रोलियम पाइपलाइनको भरपर्दो सुरक्षा तथा चौबीसै घण्टा रेखदेखको लागि नेपाली सेनालाई जिम्मेवारी दिएको जसले गर्दा चोरी, चुहावट, भवितव्य आगलागी, नोक्सानी, क्षति नहुने निश्चित भएको प्रादेशिक प्रमुख यादवले बताए।
पेट्रोलियम पाइपलाइन जडान तथा सञ्चालनले गर्दा इन्धन बिक्री वितरणमा सहज भएको र पहिलेजस्तो पैसा बुझाएर पनि तेलको लागि हप्तौं लाइन बसेर कुनुपर्ने बाध्यताको अन्त्य भएको बिन्दा आयल स्टोर्स जीतपुरका बिक्रेता शारदा नेपालले बताए।
उनले अहिले माग र आवश्यकताबमोजिम पेट्रोलियम पदार्थको आपूर्ति भएको बताए।