प्रस, वीरगंज, ६ असोज/
नेपाल सरकार मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकले नेपाल–भारत सीमानाका पूर्णरूपमा खुला गर्ने निर्णय गरे पनि बुधवार वीरगंज–रक्सौल नाका बन्द नै रह्यो ।
पहिलो लकडाउन शुरू हुनुअगावै २०७६ चैतको पहिलो सातादेखि बन्द भएको नेपाल–भारत सीमा २०७८/६/५ गतेको मन्त्रिपरिषद्को बैठकले खुला गर्ने निर्णय गरेको थियो । तर बुधवार वीरगंज–रक्सौल नाका बन्द रह्यो ।
पर्सा जिल्लाभरिका नाका बन्द रहेको प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए । उनले मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको समाचार सुने पनि सोसम्बन्धी लिखितपत्र नआएको कारण सीमा खुला नगरिएको बताए ।
भारतले आफ्नोतर्फको सीमानाका भने एक वर्षअगाडि नै खुला गरिसकेको छ ।