चिरञ्जीवी सापकोटा, ठोरी, ४ असोज/

ठोरी गाउँपालिका–२, ३ र ५ मा नवनिर्मित सशस्त्र प्रहरी भवनको सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले सोमवार उद्घाटन गरेका छन् ।

छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका वाहिनीपति सप्रनाम गौतमले ठोरीमा तीनवटा भवनसहित जिल्लाका छ स्थानमा निर्मित सशस्त्र प्रहरी भवनको उद्घाटन गरेका हुन् । ठोरी–२ राईधारामा निर्मित भवनको उद्घाटन गर्दै उनले शान्ति सुरक्षाको उचित प्रबन्ध नभए विकास नहुने बताए ।

सप्रनाम गौतमले सीमा सुरक्षा र शान्ति सुरक्षामा सशस्त्र प्रहरीको योगदान अतुलनीय रहेको दाबी गरे । उनले प्रदेश २ को सिमानामा पाँच सय बिओपी भवन निर्माण गर्ने लक्ष्य रहेको र सोही अनुरूप पर्सा जिल्लाका छवटा स्थानमा निर्मित सशस्त्र प्रहरी भवनको उद्घाटन गरिएको बताए । उनले सीमा आफैंमा संवेदनशील विषय भएको भन्दै दुई देशको समन्वयमा कुशलतापूर्वक सशस्त्र प्रहरीले जिम्मेवारी निर्वाह गरिरहेको बताए । उनले प्रत्येक समस्यामा सुरक्षा निकाय र जनस्तरमा आपसी समन्वय गरी समाधान खोजिने धारणा व्यक्त गरे ।

सप्रनाम गौतमले सातवटै प्रदेशमध्ये दुई नम्बर प्रदेशमा रहेको सशस्त्र प्रहरीले उत्कृष्ट काम गर्दै आएको दाबी गरे । उनले प्रदेशमा उत्कृष्ट काम गरेबापत सबै सशस्त्र प्रहरीलाई धन्यवाद र बधाई पनि ज्ञापन गरे । उनले खुला सीमा भएकोले सबैखाले गतिविधिमा सशस्त्र प्रहरीको निगरानी हुने र सीमा, शान्ति सुरक्षामा विघ्न बाधा हुने गरी काम गर्नेविरुद्ध कारबाई गर्न कुनै कसर बाँकी नराख्ने चेतावनी दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले ठोरीमा सीमा विवाद भइरहने ठुटे खोलानजीकै बिओपी स्थापनाले सीमा विवाद मत्थर हुने विश्वास गरे । कार्यक्रमको सहजीकरण सशस्त्र प्रहरी निरीक्षक शङ्कर कोइरालाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here