प्रस, वीरगंज, ३१ भदौ/
वीरगंज–१० आदर्शनगरमा सघन शहरी तथा भवन निर्माण कार्यालयमार्फत ठेक्का सकार गरेको महावीर कन्स्ट्रक्शनले लामो समयपछि बाँकी काम शुरू गरेको छ ।
आदर्शनगर क्षेत्रमा पाँच किलोमिटर सडक कालोपत्र, तीन किलोमिटर फूटपाथ र रेलिङ निर्माणको जिम्मा लिएको महावीर कन्स्ट्रक्शनले कोरोनाको कारण २०७७/७/१५ मा काम अधूरो छाडेको थियो ।
ठेक्का सकार गरेकोमा काम सम्पन्न नहुँदै कोरोनाको कारण काम बन्द गरेकोमा अहिले पुनः शुरू भएको ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले बताए ।
कन्स्ट्रक्शनका इन्जिनीयर सुशान्त लामाले करीब एक किलोमिटर कालोपत्र गर्न र थोरै मात्र फूटपाथको काम बाँकी रहेको बताए । उनले ठेक्का सकार हुँदा रेलिड्ढो काम गर्ने सम्झौता भएपनि आदर्शनगरमा घना मानवबस्ती भएकोले रेलिङ उपयुक्त नहुने देखिएको बताए । उनले राष्ट्र बैंक क्षेत्रमा मात्र रेलिङ गर्ने र सोबापतको खर्च सडकको दुवै साइडमा टिक ड्रेन बनाउने बताए ।
सडकमा पानी जम्ने र सोको उचित बहावको व्यवस्था नगर्ने हो भने सडक बिग्रिने सम्भावनालाई दृष्टिगत गर्दै पूर्वसम्झौतामा थप गरिएको बताए ।
७२ करोड रुपैयाँको योजना २०७४/७५ मा सकार भएर शुरू भएको हो ।
योजना दुई वर्ष अवधिको भएको तर यसबीच कोरोनाको पहिलो लहरमा एक वर्ष र दोस्रो लहरमा दश महीना काम बन्द हुँदा लम्बिन पुगेको इन्जिनीयर लामाले बताए । उनले अब आठ महीना अवधि बाँकी रहेको र यो अवधिमा थप कुनै समस्या नभए योजना सम्पन्न हुने बताए ।