काबुल, ३१ भदौ/सिन्ह्वा
अफगानिस्तानबाट यस वर्ष सन् २०२१ को अहिलेसम्म छ लाख ३४ हजारभन्दा बढी विस्थापित भएका छन् । यो सङ्ख्या देशभित्र मात्रै विस्थापित भएका अफगानीहरूको भएको सरकारी अधिकारीहरूले बिहीवार जानकारी दिएका छन् ।
यही सेप्टेम्बर १२ सम्मको विवरण अनुसार कुल छ लाख ३४ हजार ८०० भन्दा बढी विस्थापित भएको देखिएको छ । विस्थापितमध्ये दुई लाख ८२ हजार २४६ जनालाई विभिन्न सहयोग पनि प्रदान गरिएको अधिकारीहरूले जनाएका छन् ।
देशमा भइरहेको आन्तरिक द्वन्द्वका कारण उनीहरू विस्थापित भएको जनाइएको छ । तालिबानी विद्रोहीहरूले सत्ता कब्जा गरेपछि देशभन्दा बाहिर विस्थापित हुनेहरूको सङ्ख्या पनि एकाएक वृद्धि भएको पाइएको छ । देश बाहिर विस्थापित भएकामध्ये विदेशी नागरिकहरूको सङ्ख्या धेरै रहेको सरकारी अधिकारीहरूको भनाइ छ ।
विस्थापित भएकामध्ये २८ हजारभन्दा बढी प्राकृतिक प्रकोपका कारण विस्थापित भएका पाइएको छ । अफगानिस्तानमा विस्थापित भएका र सङ्कटमा परेकालाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घले सबैसँग आह्वान पनि गरेको छ । अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरेको मानवीय सहायतास्वरूपको रकम छिटो उपलब्ध गराउन राष्ट्रसङ्घले विदेशी समुदायलाई आग्रह गरेको हो ।
संयुक्त राष्ट्रसङ्घको पहलमा हालै भएको एक सम्मेलनका क्रममा विश्वका कतिपय देशले अफगानिस्तानलाई मानवीय सहायतास्वरूप भन्दै रकम उपलब्ध गराउने बताएका थिए । ती देशले कम्तीमा पनि एक अर्ब दुई करोड अमेरिकी डलर सहयोगस्वरूप उपलब्ध गराउने जनाएका थिए ।
त्यस क्रममा उनीहरूले तत्कालका लागि यति रकम दिने बताएका थिए । संयुक्त राष्ट्रसङ्घले भने अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै प्रतिबद्धता व्यक्त गरिएको रकम तत्काल उपलब्ध गराउन भनेको छ । अफगानिस्तानको आर्थिक अवस्था नराम्ररी बिग्रेको र ठूलो मानवीय सङ्कट आउन लागेकोले सहयोग आवश्यक परेको राष्ट्रसङ्घले जनाएको छ ।
हालै जेनेभामा भएको एक सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा विश्वको ध्यानाकर्षण गराएको बताइएको थियो । सोमवार जेनेभामा आयोजित एउटा सम्मेलनमा अन्तर्राष्ट्रिय दातासँग संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसले सहयोग आह्वान गरेका हुन् ।
उनले अहिले नै अफगानिस्तानमा खाना र महिला तथा बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्न लागेको भन्दै रकम आवश्यक परेको बताएका थिए । गत महीना सशस्त्र विद्रोहमार्फत अफगानिस्तानको सत्ता तालिबानीले हातमा लिएका थिए । त्यस यता वैदेशिक सहायता पनि ठप्प भएको छ ।
अफगानिस्तानका नागरिकलाई तत्काल खाना, औषधि, स्वास्थ्य सेवा तथा पछिल्लो समयमा सुरक्षित पिउने पानीको पनि समस्या रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । रासस