सिचुआन, ३१ भदौ/सिन्ह्वा

चीनको सिचुआनमा शक्तिशाली भूकम्प आएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तीमा तीनजनाको मृत्यु भएको र ६० जना घाइते भएका पुष्टि गरिएको छ । घाइते सबैलाई स्थानीय अस्पतालहरूमा उपचार भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

देशको सिचुवान प्रान्त अन्तर्गत पर्ने लुछिन क्षेत्रमा भूकम्प आएको हो । भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको पनि अधिकारीहरूले जनाएका छन् । चिनियाँ भूकम्प प्रशासनले ८९० भन्दा बढी व्यावसायिक उद्धारकर्मी परिचालन गरिएको र अन्य स्वयंसेवक तथा स्थानीय बासिन्दा पनि खोजी तथा उद्धार कार्यमा खटेको जनाइएको छ ।

त्यसैगरी अरू चार हजार ६०० उद्धारकर्ताहरू तयारी अवस्थामा रहेको पनि प्रकोप व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । प्रारम्भिक विवरण अनुसार ७३७ घर भत्केका छन् भने ७२ घरको अधिकांश भाग क्षतिग्रस्त भएको छ । त्यसैगरी सात हजार २९० घरमा सामान्य क्षति भएको छ ।

घरबाहेक अन्य भौतिक संरचनामा पनि क्षति पुगेको देखिएको छ । खोजी तथा उद्धारसँगै क्षतिको विवरण सङ्कलन गर्ने कार्य पनि भइरहेकोले पूर्ण विवरण आउन बाँकी नै रहेको अधिकारीहरूले जानकारी दिएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here