प्रस, सप्तरी, २७ भदौ/

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा आइतवारदेखि भौतिक उपस्थितिमा विद्यालयको पठनपाठन शुरू भएको छ । कोरोनाको महामारी कम भएको भन्दै सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि हनुमाननगर र भारदह क्षेत्रका विद्यालय खुलेका हुन् ।

सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो । सोहीअनुरूप हनुमाननर कङ्कालिनी नगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्वास्थ्य मापदण्ड पालना गरी पठनपाठन शुरू गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादवले सूचना जारी गर्दै कोभिड–१९ का कारण बन्दाबन्दीले लामो समयदेखि बन्द रहेका विद्यालयमा विद्यार्थीहरूलाई भौतिकरूपमा नै उपस्थित गराएर पठनपाठन शुरू गर्ने निर्णय भएको भन्दै कोभिड–१९ बाट जोगिन स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरूपमा पालना गर्न आग्रह गरिएको छ ।

आजबाट कक्षा ४ देखि १२ कक्षासम्मका बालबालिकाहरूलाई भौतिकरूपमा उपस्थित गराइ कक्षा सञ्चालन गरिएको हो । कक्षा ४ भन्दा साना कक्षाका लागि अवस्था हेरेर छिट्टै निर्णय गरिने नगर शिक्षा शाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here