प्रस, वीरगंज, २७ भदौ/
बहुक्षेत्रीय पोषण योजना अन्तर्गत पोखरिया नगरपालिकाका १० वटै वडाका ९६६ जना महिलालाई तरकारीको बीउ वितरण गरिएको छ ।
वडा नं १ देखि १० सम्मका ९६६ जनालाई प्रतिमहिला रु ३५५ को दरले तरकारीको बीउ वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
रु ३ लाख ४३ हजारको बीउ वितरण गरिएको पोखरिया नगरपालिकाले जानकारी गराउँदै महिलाहरूको लागि तरकारीको बीउ उपयोगी हुने बताए । पोखरिया नपाले बजारमा बिक्री हुने कीटनाशक औषधि प्रयोग भएको तरकारीभन्दा बारीमा फलेको तरकारी स्वस्थकर हुने भन्दै नगरपालिकाका महिलाहरूलाई तरकारीखेती गर्न उत्प्रेरित गरेको जनाएको छ ।
यसैगरी, पोखरिया नगरपालिकाले नगर क्षेत्रका ९६६ जना गर्भवती महिलालाई बहुक्षेत्रीय पोषण अन्तर्गत १६ लाख ५७ हजार रुपैयाँको सामग्री वितरण गरेको छ । प्रतिगर्भवती महिला रु १७१५ बराबरको प्रोटीन पाउडर एक डिब्बा, एचबी सिरप, सतावरी, अन्डा एक क्यारेट वितरण गरेको हो ।
गर्भवती भए/नभएको बारे वडा तहमा परीक्षण गरेर पोजेटिभ आएका महिलाहरूलाई सो सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
यो कार्यक्रम अन्तर्गत पोखरिया नपाले रु ३३ लाख ५ हजार रकम विनियोजित गरेको थियो तर निषेधाज्ञाको कारण समयमा काम शुरू नहुँदा बाँकी रकम फ्रिज भएको थियो ।