प्रस, जनकपुरधाम, २७ भदौ/
महन्थ ठाकुर नेतृत्वको नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल बन्ने पक्का भएको छ । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर बनेको लोसपा प्रदेशका सत्तारूढ दलहरूबाहेक ठूलो दल बनेकोले प्रमुख प्रतिपक्षी दलको स्थान पाउने भएको हो ।
जसपा विभाजनपछि प्रदेश २ मा लोसपा दल रोज्ने प्रदेशसभा सदस्यको सङ्ख्या १६ पुगको छ। प्रदेशसभामा १०७ जना सदस्य रहेकामा माओवादी केन्द्रले तीनजना हटाएपछि हाल १०४ जना कायम छन् । त्यसमध्ये सभामुखबाहेक जसपाका ३९ जना सांसद छन् ।
त्यसैगरी, काङ्ग्रेसका १९, लोसपाका १६, नेकपा एकीकृत समाजवादीका १३, माओवादी केन्द्र र एमालेका ८/८ जना र नेपाल सङ्घीय समाजवादीका एकजना सांसद छन् । सांसद सङ्ख्या अनुसार हाल प्रदेशसभामा जसपा पहिलो, काङ्ग्रेस दोस्रो, लोसपा तेस्रो, नेकपा एकीकृत समाजवादी चौथो, साथै एमाले र माओवादी केन्द्र पाँचौं ठूला दल बनेका छन् ।
सोमध्ये जसपा, काङ्ग्रेस, माओवादी केन्द्र सरकारमा सहभागी छन् । नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने तयारीमा छ ।
काङ्ग्रेस सरकारमा सहभागी भएपछि लोसपाले प्रमुख प्रतिपक्षीको स्थान पाउने पक्का भएको हो। निर्वाचन आयोगले दल गठन भएको औपचारिक जानकारी गराइसकेपछि गठित दलले दल मान्यताको प्रमाणसहित प्रदेशसभामा दाबी गरेमा सोही दिनदेखि दलका नेता र प्रमुख सचेतकको सेवासुविधा सरकारले उपलब्ध गराउने प्रदेश २ का प्रदेशसभा सचिव रञ्जीत यादवले बताए ।
लोसपाका नेता परमेश्वर साहले आफ्नो दलको बैठक जतिसक्दो चाँडै बसेर संसदीय दलको विधान निर्माण गर्ने र दलका नेता तथा प्रमुख सचेतक, सचेतक चयन गरिने बताए ।