निषेधाज्ञा हटेपछि गाउँमा मदिरापसल सञ्चालन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पंचगावाँ, २१ भदौ/
    सखुवाप्रसौनी गाउँपालिकामा अहिले दिनदहाडै मदिरा बिक्री हुने होटलहरू सञ्चालन भइरहेका छन्। निषेधाज्ञा हटेसँगै दिउँसो ३ देखि राति १० बजेसम्म मदिरा बिक्री हुने होटलहरू धमाधम सञ्चालनमा आएका छन्।
    निषेधाज्ञाको कारण लुकीछिपी बिक्री गर्ने मदिरापसलहरू अहिले खुलेआम सञ्चालनमा आएका छन्। सखुवाप्रसौनी गापाको श्रीपुर पंचगावाँ, पटेर्वासुगौली गापा–२ पलोटाँडी चोक, रङ्गपुर बजार, बहुदरमाई नगरपालिकाको डोकैला बहुअरी, पर्सागढी नपाको झबराहालगायतका ठाउँमा मदिरापसलहरू निर्बाध सञ्चालनमा आएका छन्। निषेधाज्ञा हटेपछि सुरक्षाकर्मीहरूले पनि मदिरापसल सञ्चालनमा अवरोध गरेका छैनन्। राति १० बजेसम्म सञ्चालन हुने मदिरापसलमा अहिले टोलबाहिरका मानिसहरू आउन थालेका छन्।
    कोरोना सङ्क्रमणका कारण बाहिरबाट आउने मानिसहरूबाट स्थानीय त्रसित भएका छन्। मदिरासेवन गरी होहल्ला, झगडा हुने क्रम अहिले कम भएको छ। निषेधाज्ञापछि खुलेको कारण होहल्ला, झगडा हुँदा सुरक्षाकर्मी सतर्क हुने र टोलवासीबाट पनि प्रतिकार हुन सक्ने सम्भावनाले त्यस्ता गतिविधि नियन्त्रण भएको छ। तर दिउँसोदेखि अबेर रातिसम्म सञ्चालित मदिरापसलमा बाहिरबाट मानिसहरू आउँदा कोरोना सर्ने भय बढेको छ। निषेधाज्ञा नभएको कारण स्थानीय प्रहरीले पनि मदिरापसलविरुद्धको उजूरीमा ध्यान नदिएको एकजनाले बताए।
     मदिरापसल बन्द गर्ने निर्देशन नभएकोले इजाजतप्राप्त पसल सञ्चालनमा रोक लगाउन नसकिने प्रहरीको भनाइ छ। मदिरापसल सञ्चालकहरूले इजाजत लिए पनि अवैध घरेलु मदिरासमेत बिक्री गर्दै आएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस