प्रस, काठमाडौं, २६ भदौ/
नेपाल बुद्धिचाल सङ्घका पूर्वअध्यक्ष स्व राजेशहरि जोशी स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि फिडेमास्टर रूपेश जैसवालले जितेका छन् ।
सजिलोसिभी डटकमका रूपेशले नौ खेलमा दुई बराबरी र सात जीतका साथ आठ अङ्क प्राप्त गरेका थिए । उनले रनिङ शिल्ड, ट्रफी, मेडल र नगद ५० हजार हात पारे ।
त्यसैगरी, समान साढे ७ अङ्क प्राप्त गरे पनि प्रोग्रेसिभ टाइब्रेकमा थापाथली चेस क्लबका फिडेमास्टर क्षितिज घिमिरे दोस्रो र सर्लाहीका कमल श्रेष्ठ तेस्रो भए । उनीहरूले क्रमशः नगद ३० र २० हजार प्राप्त गरे ।
ललितपुर स्पोट्र्स क्लबद्वारा आयोजित प्रतियोगितामा डाइनामिक चेस एकेडेमी दमकका भुपेन्द्र निरौला चौथो, भक्तपुरका निकेन कुसाथा पाँचौं, सुमन लामा छैटौं, गणेशमान दुवाल सातौं, रौतहटका सुशील चौधरी आठौं, दोलखाका राजीव कार्की नवौं र फिडेमास्टर मनीष हमाल दशौं भए ।
पाँच दिने प्रतियोगितामा महिलातर्फ सुजाना लोहनी, अनिषा न्यौपाने, आभा पुडासैनी क्रमशः प्रथम, दोस्रो र तेस्रो भए । उनीहरूले नगद १० हजार, ८ हजार र ६ हजार पुरस्कार पाए ।
यसैगरी, सजिन महर्जन ललितपुर उत्कृष्ट भई नगद ७ हजार प्राप्त गरे । अनरेटेडतर्फ सानुभाइ महर्जन प्रथम र विनय राई दोस्रो भए ।
विजयी तथा सहभागी खेलाडीहरूलाई प्रमुख अतिथि राखेपका सदस्यसचिव रमेश सिलवाल, ललितपुरका समाजसेवी प्रकाशनन्दन जोशी, जिल्ला सहकारी सङ्घ ललितपुरका अध्यक्ष माधव दुलाललगायतले पुरस्कृत गरेका थिए ।
कार्यक्रम आयोजक क्लबका अध्यक्ष हिराकाजी महर्जनको सभापतित्वमा सम्पन्न भएको थियो।