धनुषा, २६ भदौ/रासस
प्रदेश नं २ सरकारले पहिलोपटक आर्थिक सर्वेक्षण २०७७/७८ प्रकाशित गरेको छ । सरकारले प्रकाशित गरेको आर्थिक सर्वेक्षण अनुसार यस प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशत रहेको छ।
प्रत्येक आवको आठ महीनामा आर्थिक सर्वेक्षण प्रकाशित गर्ने प्रावधान रहे पनि प्रदेश सरकार गठन भएदेखि प्रथमपटक सर्वेक्षण प्रकाशित गरिएको हो ।
प्रदेश सरकारको आर्थिक उन्नतिका लागि गरीबी निवारण, रोजगार सिर्जना, वित्तीय क्षेत्रको सुधारलगायत आर्थिक सुशासन र वित्तीय सुशासन कायम गरी आर्थिक वृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सोसँग सम्बन्धित विवरण संलग्न गरी आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको अर्थ मन्त्रालयका सचिव काशीराज दाहालले बताए ।
सर्वेक्षणमा वित्त, वित्तीय क्षेत्र, गरीबी निवारण, रोजगार, सुशासन, सामान्य प्रशासन, कृषि, वन तथा भूमि सुधार, उद्योग, पर्यटन तथा भौतिक पूर्वाधारका परिसूचक समावेश गरिएका छन् ।
कोभिड–१९ का कारण प्रदेश–२ का मात्र नभई देशकै उद्योग, पर्यटनलगायत क्षेत्रमा नकरात्मक असर देखिए पनि कृषि र सेवाको क्षेत्रमा सुधार भएको सर्वेक्षणमा उल्लेख छ ।
प्रदेश नं २ मा आव २०७७/७८ मा कुल गार्हस्थ उत्पादनमा कृषि, सेवा र उद्योग क्षेत्रको योगदान क्रमशः ३९, ५०.२ र १० प्रतिशत रहेको अनुमान गरिएको थियो । सर्वेक्षण अनुसार राष्ट्रिय तहमा १३.३ प्रतिशत हिस्सा ओगटेको प्रदेश नं २ ले कोरोना महामारीमा पनि राष्ट्रको कुल गार्हस्थ उत्पादनमा १३.२ प्रतिशत योगदान पु¥याउन सफल देखिएको छ ।