प्रस, वीरगंज, २५ भदौ/

नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनको लागि देशभर निर्वाचन भइरहे पनि प्रदेश २ का आठवटै जिल्लामा निर्वाचन हुन सकेको छैन ।

देशभरका २१ जिल्लामा विवाद रहेको र अहिले प्रदेश नं २ को रौतहट जिल्लामा मात्र विवाद हुँदा आठवटै प्रदेशको निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । भदौ १८ गते नेकाको महाधिवेशन सूची अनुसार वडासमितिको निर्वाचन भएको हो तर प्रदेश २ का आठवटै जिल्लाका वडामा निर्वाचन भएन ।

अहिले भदौ २८ गते पालिकास्तरको निर्वाचनको सूची छ तर पर्सा, बारालगायत पूरै प्रदेशमा निर्वाचनको कुनै तयारी छैन । नेका केन्द्रीय कार्यालयले क्रियाशील सदस्यताको टुङ्गो नलगाएको कारण अधिवेशनको तयारी हुन नसकेको नेका पर्साका सचिव श्याम पटेलले बताए ।

उनले पुराना करीब पाँच हजार क्रियाशील सदस्यमा १४औं महाधिवेशनको लागि तीन हजार नयाँ सदस्यको आवेदन परेको र सोको टुङ्गो केन्द्रीय कमिटीले नलगाउँदा अधिवेशनमा ढिला भएको बताए । उनले क्रियाशील सदस्यको देशभरि टुङ्गो लागेको दाबी गरे पनि पर्साको हकमा केन्द्रीय कमिटीको दृष्टिकोण सकारात्मक नभएको आरोप लगाए । सचिव पटेलले नयाँ सदस्यताको लागि आवेदन भरेका पर्सा क्षेत्र नं १ को वीरगंज महानगर–३१ बेलवा र वडा नं २५ जगरनाथपुरको सदस्यता रद्द गरिएको बताए ।

यसैगरी, क्षेत्र नं ३ का सातवटा वडाको सदस्यता रद्द गरिएको उनले बताए । जिल्लाबाट सदस्यता आवेदन फाराम विधिवत्रूपमा पठाएको तर केन्द्रीय कमिटीले आफूखुशी नाम काँटछाँट गर्दै आएको सचिव पटेलले आरोप लगाए । क्रियाशील सदस्यताको टुङ्गो लागेपछि केन्द्रीय प्रतिनिधि पठाइन्छ तर सदस्यतालाई अनावश्यकरूपमा केन्द्रीय कमिटीले विवादित बनाएको र अधिवेशन हुन नसकेको सचिव पटेलले बताए ।

नेपाल विद्यार्थी सङ्घ पर्साका पूर्वअध्यक्ष दिलीपराज कार्कीले अधिवेशन ढिलो भएर युवाहरूलाई समस्या भएको बताए । उनले केन्द्रीय कमिटीलाई चासो हुनु नपर्ने जिल्ला कमिटीको निर्वाचनमा अनावश्यक हस्तक्षेप भएर ढिला गरिएको उनले आरोप लगाए ।

बारा जिल्लाका महाधिवेशन प्रतिनिधि लुकेश सिंहले जिल्लामा सदस्यताको विवाद नभए पनि केन्द्रीय कमिटीले क्रियाशील सदस्यताको टुङ्गो नलगाएको र केन्द्रीय प्रतिनिधिको छनोट नगरेको कारण अधिवेशन हुन नसकेको बताए । उनले अधिवेशनको लागि जिल्ला कमिटी तयारी अवस्थामा भएपनि केन्द्रीय कमिटीको हस्तक्षेपका कारण अधिवेशन हुन नसकेको आरोप लगाए ।

रौतहट जिल्लाका प्रतिनिधिहरू भने क्रियाशील सदस्यताको विवादलाई लिएर केन्द्रीय कमिटीमा अनशनरत छन् । यसअघि, महोत्तरी र धनुषा जिल्ला कमिटीका प्रतिनिधिहरू सोही विवादलाई लिएर केन्द्रीय कार्यालयमा अनशन बसेका थिए । नेकाले क्रियाशील सदस्यताको विवाद टुङ्गो लागेको घोषणा गरे पनि प्रदेश २ मा केन्द्रीय कमिटीकै लापरवाहीका कारण अधिवेशनमा ढिला भएको छ ।

महाधिवेशन सूची अनुसार असोज १ गते प्रदेश (क) र प्रदेश (ख)को तथा असोज २ गते संसदीय क्षेत्र अन्तर्गत क्षेत्रीय अधिवेशन हुने तय छ । यसैगरी, असोज १० गते जिल्ला अधिवेशनको सूची बनाइएको छ । तर प्रदेश २ मा वडा तहको अधिवेशन पनि हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here