प्रस, परवानीपुर, २५ भदौ/
सर्वोच्च अदालतले श्रीसिया सुक्खा बन्दरगाहमा रहेको एउटा टेस्ला गाडी तीन दिनभित्र भन्सार जाँचपास गर्न निर्देशन दिएको छ ।
गाडी जाँचपास गर्न जारी भएको अन्तरिम आदेश कार्यान्वयन नभएपछि सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई सर्वोच्चले यो निर्देशन दिएको हो । अन्तरिम आदेशबमोजिम गाडी जाँचपास गरी लैजान नदिए अपहेलनामा कारबाही हुने सर्वोच्चले चेतावनी दिएको छ । सर्वोच्चले गत साउन २५ गते आर्थिक ऐन २०७६ बमोजिम भन्सार महसूल लिएर गाडी जाँचपास गर्न अन्तरिम आदेश दिएको थियो ।
यो आदेश अनुसार कार्यालयले गाडी जाँचपास नगरी भ्याकेटमा जाने निर्णय गरेको थियो । भन्सार कार्यालयले गत १८ भदौमा महान्यायाधिवक्ता कार्यालयमार्फत अन्तरिम आदेशविरुद्धमा मुद्दा पुनरावलोकनको लागि माग गर्दै भ्याकेटमा गएको थियो ।
सो गाडी वेस्टार ग्यालेक्सी ट्रेडिङ प्रालिका शक्तिकुमार गोल्यानले ल्याएका हुन् । आर्थिक ऐन अनुसार जाँचपास गर्दा १० प्रतिशत भन्सार महसूल र १३ प्रतिशत मात्रै मूल्य अभिवृद्धि कर तिर्नुपर्छ ।
गाडी उत्पादक कम्पनीको आधिकारिक विक्रेता नेपालमा नरहेको अवस्थामा बेलायती जेम्सन कार्टरबाट उक्त कार आयात गर्दा आर्थिक ऐनविपरीत कार आयात भएको भन्दै भन्सार कार्यालयले कारको जाँचपास गर्न मानेको थिएन ।
आयातकर्ताले पहिले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजबाट अन्तरिम आदेशको लागि रिट गर्दा यहाँबाट अन्तरिम आदेश जारी भएको थिएन । यस्तै प्रकृतिको आउडी आयात गर्ने प्रिन्सा मोटर्सकोे हकमा अन्तरिम आदेश पनि भएको थिएन ।