प्रस, परवानीपुर, २५ भदौ/
सशस्त्र प्रहरीले पर्सामा छवटा सुविधायुक्त बिओपी भवनसहित नौवटा बिओपी स्थापना गर्दै कुल १८ वटा बिओपी पु¥याएको छ ।
सशस्त्र प्रहरी बल १३ नं गण पर्साका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले गत वर्ष ठोरी, ब्रह्मनगर, सुवर्णपुर, भिस्वा, पकहामैनपुर, अमरपट्टि गरी छवटा पुराना बिओपी भवन निर्माण कार्य सम्पन्न भएको बताए । सशस्त्र प्रहरी मुख्यालयले प्रतिभवन निर्माणका लागि ८० देखि ९५ लाख रुपैयाँसम्मको टेन्डर गरी भवन निर्माण कार्य पूरा गरेको उनले बताए ।
त्यसैगरी, पर्सामा पहिलेका नौवटा बिओपी रहेकामा अरू नौवटा बिओपी थपेर १८ वटा बिओपी स्थापना भएको उनले बताए । ठोरी, सुवर्णपुर, भिखमपुर, भिस्वा, सबैठवा, पकहामैनपुर, अमरपट्टि, अलौं र श्रीसिया गरी कुल नौवटा बिओपी थियो भने गत आवमा विजयबस्ती, ब्रह्मनगर, महादेवपट्टि, मिर्जापुर, प्रसौनीभाठा, ड्राइपोर्ट, वीरगंज भन्सार (औद्योगिक गुल्म हटाएर बिओपी), आसवारीलगायत नयाँ नौवटा बिओपी थपिएको हो । नयाँ थपिएका नौवटा बिओपीमध्ये आसवारीको भवन मात्र उद्घाटन हुन बाँकी छ ।
नेपाल सरकारको नीति अनुसार र प्रदेश २ सशस्त्र प्रहरीको कार्ययोजना अनुसार सीमा क्षेत्रको सुरक्षा, सीमास्तम्भको अवलोकन, सीमा गस्ती, अवैध चोरी निकासी न्यूनीकरण जस्ता काममा सशस्त्र प्रहरीले कार्य गर्दै आएको सप्रउ खड्काले बताए ।
प्रदेश २ का आठ जिल्लामा ४६४ किलोमिटर भारतसँग सीमा जोडिएको र त्यसमध्ये पर्सासँग १०७ किलोमिटर भारतीय क्षेत्रसँग जोडिएको छ । पर्साको सीमा क्षेत्र भएर अवैध चोरी निकासी पैठारी बढेकाले सशस्त्र प्रहरीको सुरक्षा प्रबन्ध बढाइएको सप्रउ खड्काले बताए ।