पेरिस, २२ भदौ/एएफपी

युरोपको शिथिल पर्यटन उद्योगले बिस्तारै गति लिन थालेको छ । युरोपेली  पर्यटकहरूले कोभिड–१९ महामारीले गर्दा घरमैं रहन बाध्य एशियाली र उत्तरी अमेरिकी पर्यटकहरूले छाडेको खाडल भर्न मदत गरेका छन् । युरोपको पर्यटन र आतिथ्य उद्योग यस वर्ष मन्द प्रायः नै रहेका छन् तर सुधारको झिनो सङ्केत भने देखिएका छन् ।

यस क्षेत्रले २०२० को विनाशकारी पर्यटनयामपछि सुधारको उज्यालो समयको अपेक्षासहित कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन र यात्रा प्रतिबन्धहरूलाई सहजीकरणका प्रयासहरूसमेत अवलम्बन गरेको थियो ।

यति हुँदाहुँदै पनि युरोपेली आगन्तुकहरूको सङ्ख्या घटेको छ तर सोधभर्ना पर्यटकहरूका रूपमा देखा परेका केही पर्यटकले भने यस क्षेत्रमा विभिन्न तरीकाले खर्च गरिरहेका देखिन्छन् ।

यद्यपि चिनियाँ र अमेरिकी पर्यटक जस्ता ठूलो सङ्ख्यामा ठूलो रकम खर्च गर्ने पर्यटकहरू भने कमै देखिएका छन् । यसरी घुम्न चाहने पर्यटकहरूका निम्ति पनि कोभिड यात्रा प्रतिबन्ध अचानक परिवर्तन हुने डर र बेलायतको  भ्रमणको लागि विशेषतः अनिवार्य कोभिड–१९ को परीक्षणलगायतका कारणहरूले यस गर्मीयाममा पनि यस क्षेत्रको पर्यटन उद्योगमा अपेक्षित सुधार हुने सम्भावना कमै छ ।

पर्यटन क्षेत्रमा निर्भर ग्रीसले जुलाई र अगस्तमा २० लाखभन्दा धेरै आगन्तुकलाई स्वागत गरेको छ । ग्रीसका  पर्यटनमन्त्री हरिस थियोचारिसले २०१९ को महामारीपछि यस्तो समय निकै पछि देखा परेको बताएका छन् ।

एथेन्सको प्लाका टुरिस्ट हटस्पटमा रहेको बारका मालिक नेपोलियनले भने यस गर्मीयाममा ५० प्रतिशतभन्दा बढीको लक्ष्य पार गरेको छ । तर नजीकैको बायरन होटलका सहप्रबन्धक जिमी मिस्तिपोलसले भने उनको होटल १० दिन मात्र भरिभराउ थियो ।  यद्यपि दुर्ई वर्ष पहिले यो याममा त्यहाँ कुनै कोठा खाली हुँदैनथे ।

रोमको मुटुमा रहेको कस्मोपोलिटा  होटलका मालिक वाल्टर पिटारियोले ८२ मध्ये औसतमा तीनदेखि पाँचवटा कोठा मात्र पर्यटकले भरिभराउ हुने गरेको उल्लेख गरेका छन् । उनका अनुसार त्यहाँ आउने पर्यटकहरूमा ८० प्रतिशत विदेशी हुने र तीमध्ये ८० प्रतिशत अमेरिकी र एशियाली हुने गरेका छन् । त्यहाँको होटेल सङ्घले जनाए अनुसार रोममा रहेका १,२०० होटलमध्ये ६०० यस गर्मीयाममा खुलेका छन् र औसतमा ३० देखि ३५ प्रतिशतमा मात्र पर्यटकको आवागमन हुने गरेको छ । विश्वको दोस्रो  ठूलो पर्यटकीय गन्तव्य स्पेनले २०१९ को जुलाईमा ४४ लाख पर्यटकलाई  भिœयाएको थियो तर कोभिड–१९ को महामारी पहिले भने सो अवधिमा औसतमा ९९ लाख पर्यटकले भ्रमण गर्ने गरेको त्यहाँको तथ्याङ्कले देखाएको छ । मेडिटेरिनियन क्षेत्र पर्यटकहरूद्वारा सबैभन्दा मन पराइने गन्तव्य हो, जहाँ अगस्तमा ९५ प्रतिशतको हाराहारीमा खचाखच रहेको थियो ।

फ्रान्सेलीहरू स्पेनका मुख्य पर्यटकहरू हुन्, जहाँ आठ लाख ७४ हजारको सङ्ख्यामा सो अवधिमा छुट्टी मनाउन पुगेका थिए । त्यसैगरी, सात लाख सात हजार जर्मन र पाँच लाख ५५ हजार बेलायती पनि छुट्टी मनाउन त्यहाँ पुगेका थिए । ठूलो सङ्ख्यामा त्यहाँ पुग्ने बेलायती पर्यटकहरू भने कोभिड महामारीका कारणले यस वर्ष घरमैं रहन बाध्य भए । बेलायतको भ्रमण निर्देशिका र अवलम्बन गर्नुपर्ने सावधानीका जटिलताले यहाँको पर्यटकको सङ्ख्यामा निकै कमी आएको छ । उनीहरूको लागि ग्रीस नयाँ गन्तव्यको रूपमा देखा परेको छ, जहाँ २०१९ मा भन्दा ७९ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी, फ्रान्सेलीहरूले पनि ग्रीस नयाँ गन्तव्यको रूपमा मन पराएका छन् । यस वर्ष मात्र चार लाख ५० हजारजनाले  ग्रीसको भ्रमण गरेका छन् ।

बेलायतका पर्यटन विज्ञ सेबास्टिएन  मन्सेउले जनाए अनुसार यहाँका  आन्तरिक पर्यटकहरूले पनि यस वर्ष सुन्दर गर्मीयाम मनाएका छन्, जसले गर्दा यहाँको शिथिल पर्यटन उद्योगले आंशिक मात्रामा भएपनि गति लिने अपेक्षा लिइएको छ । युरोपको आन्तरिक पर्यटनले क्रमशः गति लिन थालेको छ । फ्रान्सका ३७० लाख छुट्टी मनाउने जनसङ्ख्यामध्ये यस याममा ८५ प्रतिशत स्वदेशमैं रहेको यहाँका कनिष्ठ पर्यटनमन्त्री  ब्यापटिस्टे लियोनेले बताएका छन् । यहाँका प्रमुख भ्रमण गन्तव्यहरूमा क्रमशः चहलपहल देखिन थालेका छन् । बाह्यभन्दा पनि आन्तरिक पर्यटनले यस क्षेत्रमा केही आशाका सङ्केतहरू देखिएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here