प्रस, वीरगंज, २१ भदौ/

पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा एमालेको स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले अवसरवादीहरूको गठबन्धनको सरकारले देश उल्टो दिशातर्फ गएको आरोप लगाएका छन् ।

वीरगंजमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उनले भने, “सरकारमा सहभागी गठबन्धन दलका नेताहरूको स्वार्थ तथा उद्देश्य अलग–अलग रहेकाले सरकार लामो समयसम्म टिक्ने अवस्था कमजोर हँुदै गएको छ, दुर्ई महीना पुग्न लाग्दा पनि सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नसक्नु सरकारको असफलताको पाटो हो ।” गठबन्धन दलले जनादेशबाट नभई परमादेशबाट सरकारको नेतृत्व गर्न पाएको चर्चा गर्दै उनले नेपालको राजनीतिमा पछिल्लोपटक विदेशी शक्तिको चलखेल बढेकोप्रति दुःख व्यक्त गरे ।

नेकपा एमाले फोडेर जाने नेताहरूप्रति कटाक्ष गर्दै नेता ज्ञवालीले पार्टी फुटेर कमजोर हुनुको सट्टा झन् मजबूत भएको दाबी गरे । नेकपा एमालेको ७२ वर्षे इतिहासमा धेरैपटक फुटेको र जुटेको वृतान्त सुनाउँदै उनले नेता, कार्यकर्ताहरू उदास हुनुपर्ने कुनै कारण नरहेको चर्चा गरे । “नेकपा एमाले सच्चा कार्यकर्ताको बलमा चल्ने पार्टी हो, पार्टीलाई बदनाम र गुमराहमा पार्ने नेता, कार्यकर्ता चाहिएको छैन,” उनले भने, “पार्टी टुक्रिएर झन् विशुद्ध एमालेवादीको पार्टी बनेको छ ।”

ओली सरकारको काम जनताको मन र ह्दयमा ताजै रहेको चर्चा गर्दै उनले आगामी निर्वाचनमा नेकपा एमाले नै मुख्य पार्टीको रूपमा देखा पर्ने ठोकुवा गरे । ओली नेतृत्वको नेकपा सरकारले मुलुकमा विकास निर्माणका योजनाहरू धमाधम अगाडि बढाउँदा अन्य दल सशङ्कित भएर घेराबन्दी गरी ओली सरकारलाई ढालेको बताए । नेकपा एमाले सशक्त प्रतिपक्षीको भूमिकामा रहेर काम गर्ने उनले बताए ।

नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश २ की ज्वाला साह, अच्युत मैनाली, निर्मला देवकोटा, डा विश्वम्भर शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए । जिल्ला सचिव एवं छिपहरमाई गापाका अध्यक्ष मनोज गुप्ताले कार्यक्रमको सहजीकरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here