काबुल, २१ भदौ/सिन्ह्वा
अफगानिस्तानको पंजशिर प्रान्त पनि तालिबान विद्रोहीहरूले कब्जामा लिएको घोषणा गरेका छन् ।
देशका कुल ३४ प्रान्तमध्ये ३३ प्रान्त यसअघि नै कब्जा गरिसकेका तालिबान विद्रोहीहरूले पंजशिर प्रान्त पनि कब्जा गरेसँगै सबै प्रान्त कब्जा भएका छन् ।
तालिबान विद्रोही र सरकारी सुरक्षाकर्मीबीच लामो समय भिडन्त भएपछि अन्ततः तालिबान विद्रोहीहरूले पंजशिर हासिल गरेका हुन् ।
तालिबान विद्रोहीका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले पंजशिरमा जीत भएको र प्रान्त नै नियन्त्रणमा आइसकेको दाबी गरे । “अफगानिस्तानका सबै भूभाग कब्जा गर्ने क्रममा सबैभन्दा अन्त्यमा पंजशिर प्रान्त पनि नियन्त्रणमा लिन सफल भएका छौं”–प्रवक्ता मुजाहिदले भने ।
आफ्नो सत्तालाई तालिबान विद्रोहीहरूले इस्लामिक इमरेट्स अफ अफगानिस्तान भन्ने गरेका छन् । पंजशिर पनि अब यहीमार्फत सञ्चालित हुने भएको छ । विद्रोही र तत्कालीन सत्तापक्षबीच भएको भिडन्तका क्रममा कैयौंको मृत्यु भएको छ भने अरू कैयौं घाइते पनि भएको विवरण सार्वजनिक भएका छन् ।
पंजशिरमा भएको लडाइँमा हजारौंले भाग लिएको जनाइएको छ । भिडन्तका क्रममा अरू कैयFैंको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । तर क्षतिको स्पष्ट विवरण भने प्राप्त भइसकेको छैन ।
काबुलको उत्तरमा पर्ने पंजशिर उपत्यका अफगानिस्तानको सबैभन्दा सानो प्रान्त हो भने यसलाई तालिबान विद्रोहीहरूले अहिलेसम्म नियन्त्रणमा लिन सकेका थिएनन् ।
पहाडहरूले घेरिएको उक्त प्रान्त परम्परागतरूपमा नै तालिबानविरोधी गढ मानिन्छ । डेढ लाखदेखि दुई लाख मानिसको बसोवास पंजशिरका अग्ला चट्टान र दुई पहाडबीच रहेका खोंचहरूले उक्त स्थानलाई बलियो गढ बनाएको हो ।
बहुमूल्य धातुका खानी, जलविद्युत् बाँधहरू र वायु ऊर्जा केन्द्र रहेको त्यस क्षेत्रमा अमेरिकाले सडक निर्माण र काबुलबाट सङ्केत प्राप्त गर्न सक्ने रेडियो टावरसमेत निर्माण गरेकोले विगतमा तालिबान विद्रोहीहरूले कब्जामा लिन नसकेको बताइन्छ । रासस