काठमाडौं, २१ भदौ/रासस

गएराति काठमाडौं उपत्यकामा यो वर्षको सबैभन्दा धेरै पानी प¥यो, जुन पाँच दशकयताको तेस्रो ठूलो वर्षा हो । रातभरि परेको पानीले काठमाडौंका विभिन्न स्थानमा डुबानसमेत भएको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंमा गएराति २४ घण्टामा १२१.५ मिमी वर्षा भएको थियो । उपत्यकाका विभिन्न नदी र खोला किनारामा देखिएको डुबानको अवस्था हेरेर कतिपयले यसलाई हालसम्मकै ठूलो वर्षा भने पनि विगत ५३ वर्षको अवधिमा रेकर्ड गरिएको तथ्याङ्क हेर्दा यो हालसम्मको तेस्रो ठूलो वर्षा हो ।

सन् १९६८ देखि २०२१ सम्मको तथ्याङ्क केलाउँदा २००२ को जुलाई २३ मा सबैभन्दा बढी २४ घण्टामा १७७ मिमी वर्षा भएको देखिन्छ । त्यसपछिको ठूलो वर्षा सन् १९८७ मा १२४ मिमी वर्षा भएको विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले जानकारी दिइन् ।

उपत्यकाका नदी र खोला क्षेत्र मिचेर साँघुरा पारिएको र वर्षाको पानी सोस्ने जमीन कम भएका कारण बढी डुबान देखिएको उनको भनाइ छ । गएरातिको अविरल वर्षाले काठमाडौं उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । काठमाडौंको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुमबासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायत क्षेत्र डुबानमा परेको नेपाल प्रहरीले जनाएको छ ।

यस्तै, अविरल वर्षाले वाग्मतीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर र उत्तरगया क्षेत्र डुबानमा परेको छ । रुद्रमतीमा आएको बाढीले रातोपुल मैतीदेवी क्षेत्रका केही घरसमेत डुबानमा परेका थिए । आइतवार रातिदेखि सोमवार बिहानसम्मको वर्षाले उपत्यकाका धेरै स्थान प्रभावित भएको छ ।

काठमाडौं उपत्यकामा मुख्यगरी वाग्मती नदी र यसका सहायक तथा उपसहायक नदी विष्णुमती, मनोहरा, नख्खु, बल्खु, धोबीखोला, टुकुचा, हनुमन्ते, महादेव खोला, गोदावरी र कर्मनाशा बग्ने गर्छन् । यी सबै नदी तथा खोलामा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले विसं २०६६ देखि अतिक्रमण रोक्न नदीका दुवै किनारामा तटबन्ध निर्माण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here