प्रस, वीरगंज, २० भदौ/
वीरगंज महानगरपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयहरू पूर्णरूपमा सञ्चालन भएसँगै पर्सा जिल्लाका विभिन्न पालिकामा भने विद्यालयहरू सञ्चालनमा आउन थालेका छन् ।
चैतको पहिलो सातादेखि बन्द भएका विद्यालयहरू वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको कारण खुल्न सकेका थिएनन् । सरकारले विद्यालय सञ्चालन गर्न स्वीकृति दिएको छैन भने स्थानीय प्रशासनले पनि विद्यालय सञ्चालनको लागि स्वीकृति प्रदान गरेको छैन ।
वीरगंज महानगरपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति दिएको डेढ महीनापछि साउन १५ गतेदेखि वीरगंज महानगरका विद्यालयहरू सञ्चालनमा आएका हुन् । कक्षा ८ देखि १२ सम्मको विद्यालय पहिलो चरणमा खुले भने त्यसपछि कक्षा ५ माथिका र अहिले आएर बालविकासदेखि नै कक्षा सञ्चालन भएका छन् ।
प्रस, ठोरी/
ठोरी गाउँपालिकामा आइतवारदेखि बालविकासदेखि कक्षा १२ सम्मका विद्यालय सञ्चालनमा आएको गापाका शिक्षा संयोजक भुपालकुमार जोशीले बताए ।
भदौ १३ गते ठोरी गापाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापकलगायत सरोकारवालाहरूको संयुक्त बैठकले विद्यार्थीहरूको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । कोरोनाको जोखिम कम भएकोले विद्यार्थीहरूको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गरिएको शिक्षा संयोजक जोशीले बताए । विद्यालय सञ्चालन भएपनि कोरोनाको जोखिमबाट जोगिन मास्कको प्रयोगसँगै तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने अनिवार्यता कायम गरिएको उनले बताए ।
संयोजक जोशीले विद्यार्थी सङ्ख्या बढी भएका विद्यालयहरूले आवश्यकता अनुसार दुई सिफ्टमा विद्यालय सञ्चालन गर्न निर्देशन गरिएको बताए । उनले ग्रामीण क्षेत्र भएकोले ठोरीमा अनलाइन कक्षा सञ्चालन गर्न अप्ठेरो भएको र सियुजी सिममार्फत पठनपाठन गराउन अभिभावकहरू अनिच्छुक देखिएकाले विद्यार्थीहरूको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्नुको विकल्प नरहेको प्रस्ट्याए ।
विद्यालय बन्द भएको करीब ६ महीना र नयाँ शैक्षिक सत्र शुरू भएको पौने दुई महीनापछि विद्यालय सञ्चालनमा आए पनि विद्यार्थी सङ्ख्या भने न्यून रह्यो । ठोरीका विद्यालयहरूमा २५ देखि ६५ प्रतिशत विद्यार्थी विद्यालय आएको बताइएको छ । ठोरी गापा–२ स्थित नमूना सामुदायिक मावि, सरस्वती मावि, गौतमनगरमा ६० प्रतिशत विद्यार्थी उपस्थित भएको प्रअ केशवप्रसाद रेग्मीले बताए ।
ठोरी गापा–१ मा रहेको प्राविधिक मावि दीपनगरमा भने विद्यार्थी सङ्ख्या न्यून भएको प्रअ निरञ्जनकुमार श्रीवास्तवले बताए । यहाँ २५ प्रतिशत विद्यार्थीको मात्र उपस्थिति रह्यो । ठोरी गापामा २१ वटा सामुदायिक विद्यालय छन् ।
आजदेखि विद्यालय सञ्चालनमा आए पनि सबै विद्यार्थीले मास्क नलगाएको ज्ञानज्योति मावि ठोरी गापा–४ का पिताचन्द्र ढुङ्गेलले बताए । उनले ठोरीमा हाल भाइरल ज्वरोको प्रकोप बढेको र विद्यार्थीहरूले मास्क नलगाउँदा भाइरल ज्वरो सर्न सक्ने जोखिम बढेको बताए । ठोरीका सबै विद्यालयले ज्वरो लागेका विद्यार्थीहरूलाई विद्यालय नआउन सूचित गरेका छन् र विद्यालय आउने सबै विद्यार्थीलाई अनिवार्य मास्कको प्रयोग गर्न र पिउने पानी आफूसँगै ल्याउन सूचित गरेको सरस्वती मावि ठोरीका प्रअ ढुङ्गेलले बताए ।
प्रस, सेढवा/
वीरगंज महानगरपालिकाका विद्यालयहरू पूर्णरूपमा सञ्चालनमा आएको समाचारसँगै जीराभवानी र पटेर्वासुगौली गापामा पनि आइतवारदेखि भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भए ।
यसअघि, मन्त्रीस्तरीय तथा स्थानीय प्रशासनको निर्णयबाट मात्र विद्यालय सञ्चालन हुने बताउँदै आएका यहाँका प्रअहरूले आइतवारदेखि विद्यालय सञ्चालनमा ल्याएका हुन् । दुवै गापाका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बालविकासदेखि कक्षा १२ सम्म एकसाथ सञ्चालनमा आएका हुन् ।
आइतवार पहिलो दिन विद्यार्थीहरूको सङ्ख्या कम रह्यो । सबैलाई सूचना नपुगेको र कोरोनाको भयको कारण पनि कतिपय विद्यार्थी विद्यालय नआएको पाइएको छ ।
प्रस, पोखरिया/
पोखरिया नगरपालिकामा रहेका विद्यालयहरू भदौ २२ गतेदेखि खुल्ने भएका छन् । नगरपालिकाले सरोकारवालाहरूसँग बैठक गरी भदौ २२ गतेदेखि खोल्ने निर्णय गरेको छ ।
कालिकामाई गापामा रहेका विद्यालयहरू भने आइतवारदेखि सञ्चालनमा आएका छन् । धोबिनी गापाका विद्यालयहरू भदौ १५ गतेदेखि नै सञ्चालनमा छन् तर पकाहामैनपुर गापाले भने अहिलेसम्म विद्यालय खोल्ने सम्बन्धमा निर्णय गरेको छैन, जसले गर्दा यहाँ विद्यालय खुल्ने विषय अहिले पनि अन्योलमा छ ।