सञ्जीव मिश्र, विन्ध्यवासिनी, २० भदौ/
पर्साको विन्ध्यवासिनी गाउँपालिकामा बालमैत्री विद्यालयको लागि युवाको भूमिका विषयक छलफल कार्यक्रम आइतवार सम्पन्न भएको छ ।
गाउँपालिकाको सहकार्यमा शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति पर्साले आयोजनामा गरेको कार्यक्रम गाउँपालिका अध्यक्ष श्रीलाल साह कानूको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साहको आतिथ्य थियो ।
पालिकाका २० जना युवाको सहभागिता रहेको कार्यक्रममा गापा अध्यक्ष कानूले पालिका अन्तर्गतका सबै विद्यालयको सर्वेक्षण गरी बालबालिकाहरूको लागि आवश्यक झोला, शैक्षिक सामग्री र किशोरीहरूका लागि सेनिटरी प्याडसमेत वितरण गरिने बताए ।
बालमैत्री विद्यालय सञ्चालनका लागि पालिकाले बजेट विनियोजन गर्ने तयारी गरेको जानकारी गराउँदै अध्यक्ष कानूले शैक्षिक कार्यक्रमले लक्ष्य प्राप्त गर्नको लागि युवाहरूको भूमिका महŒवपूर्ण रहेको बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सरोजप्रसाद चौहान, एनसी नेपालका यङ च्यापियन निशा राई, आनन्दकुमार यादव, सर्वहित क्लब अमरपट्टिका सचिव राजेश्वरप्रसाद चौरसियालगायतले छलफलमा भाग लिएका थिए ।