प्रस, पर्सागढी, १९ भदौ/
वीरगंज महानगरपालिका–३१ सोलखपुरमा ४० लाख रुपैयाँको लागतमा नवनिर्मित नाँचघर तथा विवाहमण्डपको सङ्घीय सांसद प्रदीप यादवले उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा सांसद यादवले लामो समयदेखी जीर्ण अवस्थामा रहेको नाँचघर तथा धर्मशालाको स्थानीयको सहयोगमा निर्माण कार्य पूरा भएकोमा सबैलाई धन्यवाद दिए । उनले सोलखपुरमा निर्माण भएको नाँचघर जिल्लाकै पहिलो भएको बताए । सबैखाले कार्यक्रमका लागि अब टोलबाहिर जानुपर्ने अवस्था टरेको उनले बताए ।
टोलवासीका लागि अब प्रतिकूल मौसममा पनि कार्य सम्पन्न गर्ने थलो निर्माण भएको र यसको रेखदेखमा सबैले चासो दिनुपर्ने सुझाए ।
नाँचघर तथा विवाहमण्डपका अध्यक्ष प्रयाग थारूको अध्यक्षतामा भएको कार्यक्रममा मुखदेव पञ्जियार, जीतेन्द्र यादव, शेख भिखारीलगायतको सहभागिता थियो ।
यसैगरी, सांसद यादवले शनिवार सोही वडाको कोनियामा निर्मित धर्मशालाको पनि उद्घाटन गरे। स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम अन्तर्गत दुई कोठे धर्मशाला रु १३ लाखको लागतमा बनेको हो ।