काठमाडौं, १९ भदौ/रासस
सन् २०२१ को आठ महीनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अगस्त महीनासम्म ६६ हजार नौ सय ६६ विदेशी पर्यटक नेपाल आएका हुन् । अगस्त महीनामा हवाई मार्ग भएर पाँच हजार ९१७ विदेशी पर्यटन नेपाल भित्रिएका छन् । उक्त महीना नेपालबाट पाँच हजार ८३ विदेशी बाहिरिएका छन् ।
अघिल्लो वर्ष सन् २०२० को सोही महीनामा जम्मा २६५ जना मात्र पर्यटक आएका थिए ।
कोभिड–१९ अघि सन् २०१९ को अगस्तमा ९४ हजार ७४९ जना पर्यटक नेपाल आएको तथ्याङ्क छ । कोभिड–१९ महामारीको नराम्ररी असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटक आवागमनको सङ्ख्या निराशाजनक देखिन्छ ।
बोर्डका प्रवक्ता मणि लामिछानेले महामारीकै बीच पनि झिनो सङ्ख्यामा भएपनि विदेशी पर्यटक नेपाल आइरहेका बताए । उनका अनुसार यो वर्षको जनवरी महीनामा आठ हजार ८७४, फेब्रुअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जूनमा एक हजार १४३ र जुलाईमा दुई हजार ९९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।