काठमाडौं, १७ भदौ/रासस

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबलको पहिलो खेलमा नेपाल र भारतले बराबरी खेलेका छन् । दुवै टोलीले एक/एक गोलको बराबरी खेलेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल र भारतबीच एक/एक गोलको बराबरीमा खेल सकिएको छ । नेपालले पहिलो हाफमा अग्रता लिएको थियो । सो अग्रतालाई दोस्रो हाफमा कायमै राख्न नसक्दा बराबरी खेल्नुपरेको हो । नेपाल पहिलो हाफमा १–० गोलले अगाडि रहेको थियो । नेपालका लागि खेलको ३६औं मिनेटमा अञ्जन विष्टले गोल गरेका थिए । पहिलो हाफमा भारतीय टोलीले पनि गोलको प्रयास गरे पनि सफल भने हुन सकेन ।

नेपालले दोस्रो हाफमा पनि गोलको प्रयास गरेको थियो । भारतीय गोलकीपर गुरप्रीतसिंह सन्धुले नेपाली टोलीको प्रयास विफल पारिदिए । मध्यान्तरपछिको खेलमा भारतले नेपालविरुद्ध गोल गर्न सफल भयो । खेलको ६०औं मिनेटमा भारतका लागि अनिरुद्ध थापाले गोल गरेका थिए ।

गोलकीपर किरणकुमार चेम्जोङले उनको प्रहार रोक्न सनेनन् । आजको खेलसँगै नेपाली गोलकीपर चेम्जोङले नेपालको तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाएका विराज महर्जनसित बराबरी गरेका छन् । महर्जनले नेपाली टोलीबाट संन्यास लिइसकेका छन् । महर्जन र चेम्जोङ नेपाली टोलीबाट समान ७३ खेल खेलेका छन् ।

नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतवार दशरथ रङ्गशालामा हुनेछ ।

नेपाल र भारबीच आजसहित फूटबलमा २० पटक भिडन्त भएको छ । भारत १३ पटक विजयी भएको छ भने नेपालले दुईचोटि मात्र जीत निकाल्न सकेको छ । पाँच खेलमा दुवै टोलीले बराबरी खेलेका छन् । विश्व फूटबल महासङ्घको (फिफा) वरीयता अनुसार भारत १०५औं स्थानमा छ भने नेपाल १६८औं स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here