प्रस, वीरगंज, १७ भदौ/

वीरगंज–१० बजरङ्गटोलमा निर्माण भएको जनजाति कल्याण आश्रम अन्तर्गतको आमाको माया छात्रावासको बिहीवार उद्घाटन भएको छ ।

वीरगंजका नगरप्रमुख विजयकुमार सरावगी, अखिल भारतीय वनवासी कल्याण आश्रमका सोमायाजुलू र समाजसेवी मुरलीधर रूँगटाले आज संयुक्तरूपमा छात्रावास भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख विजयकुमार सरावगीले पश्चिमा प्रभावले गर्दा नेपालको मूल धर्म संस्कृति सङ्कटमा परेको बताए । उनले इसाई धर्मावलम्बीहरूले नेपालको गरीबी, विपन्नताको फाइदा उठाएर हिन्दू धर्म–संस्कृतिमाथि ठाडो प्रहार गरेको आरोप लगाए । उनले धर्म परिवर्तन कार्यलाई मुखभरिको जवाफ दिनुपर्ने बताए ।

नगरप्रमुख सरावगीले जनजाति कल्याण आश्रमले आमाको माया छात्रावासमार्फत गरीब, अति विपन्न परिवारको शिक्षादीक्षा र गाँस–वासको व्यवस्था मिलाउँदै आएकोमा सो कार्यको सराहना गरे । उनले महानगरपालिका र आफ्नो व्यक्तिगत सहयोगमा यस्ता कार्यमा मदत गर्ने प्रतिबद्धता जताए ।

अखिल भारतीय वनवासी कल्याण आश्रमका सोमायाजुलूले छात्रावासको परम्परा पुरानो ऐतिहासिक गुरुकूलको अनुसरण गर्दै वनवास क्षेत्रमा सञ्चालन हुँदै आएको बताए । गुरुकूलमार्फत छात्रछात्रालाई वेद तथा रामायणबारे शिक्षा प्रदान गरी असल व्यक्ति निर्माण गर्ने काम भइरहेको उनले बताए ।

छात्रावासको माध्यमबाट गरीब, विपन्न परिवारका बालबालिकालाई शिक्षा प्रदान गरी समाजमा असल व्यक्ति निर्माण गर्ने काम भइरहेको जानकारी गराए ।

जनजाति कल्याण आश्रमका महासचिव प्रेम थुलुङले जनजाति आश्रमले देशको ३८ प्रतिशत जनजाति समुदायमध्ये प्रभावितहरूलाई मूल प्रवाहमा ल्याउने काम गरिरहेको बताए । उनले वीरगंजमा दुई दशकअघि शुरू भएको छात्रावास अहिले देशको १० जिल्लामा सङ्गठन विस्तार गरी ३० जिल्लामा शिक्षाको पहुँचबाट टाढा रहेका सयौं बालबालिकालाई निश्शुल्क शिक्षा दिंदै आएको जानकारी गराए । उनले पनि इसाईहरूले करोडौं–अर्बौ खर्च गरेर जनजातिहरूलाई धर्म परिवर्तन गर्न बाध्य गर्दै आएको आरोप लगाए । उनले यही कारण इसाईहरूले यो छात्रावासविरुद्ध विभिन्न भ्रम पैmलाउँदै आएको बताए ।

आमाको माया छात्रावासका अध्यक्ष भवरलाल पारिखको अध्यक्षतामा भएको कार्यक्रममा जनजाति कल्याण आश्रमका अध्यक्ष सुरेश रूँगटा, समाजसेवी मुरलीधर रूँगटा, वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अशोक बैद, वडाध्यक्ष रामनगिना साह कानूलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here