प्रस, वीरगंज, १६ भदौ/
नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले गत एक सातामा १० जना सङ्क्रमित पुष्टि भएको बताएको छ ।
अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले भदौ १० देखि १६ गतेसम्म १० जना सङ्क्रमित पुष्टि भएको बताए । उनले सङ्क्रमित पुष्टि हुनेमा पर्साका पाँच, बाराका चार र रौतहटका एक गरी १० जना रहेको बताए ।
यो अवधिमा २८० जनाको स्वाब परीक्षण गरिएको उनले बताए । नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा १२ गते ७८ जनाको स्वाब परीक्षण गर्दा कोही सङ्क्रमित पुष्टि भएनन् ।
त्यसैगरी, १३–१४ गते पनि सङ्क्रमित पुष्टि भएनन् । कोभिड संयोजक डा सिंहले बुधवार ५३ जनाको स्वाब परीक्षण गर्दा पर्साका एकजना सङ्क्रमित भएको बताए ।