रियाद, १४ भदौ/सिन्ह्वा

लामो समयदेखि विद्यालय जान नपाएका साउदी अरबका विद्यार्थीहरू आइतवारदेखि विद्यालय जान थालेका छन् । अनलाइनमार्फत पढिरहेका विद्यार्थीहरू अहिले भने भौतिकरूपमैं विद्यालयमा उपस्थित भएर अध्ययन गर्न थालेका हुन् । योसँगै नयाँ शैक्षिकसत्रसमेत शुरू भएको जनाइएको छ ।

गत १७ महीनादेखि घरमैं पढिरहेका ती विद्यार्थीहरूले विद्यालय गएर पढ्न पाएपछि खुशी व्यक्त गरेका छन् । घरमैं बसेर अनलाइनमार्फत भइरहेको पढाइमा गुणस्तर नभएपछि र कोरोना भाइरसको महामारी पनि कम हुँदै गएपछि भौतिकरूपमैं अध्ययन अध्यापन शुरू गरिएको हो ।
शैक्षिक अधिकारीहरूका अनुसार अहिले १२ वर्ष पूरा भएका वा सोभन्दा बढी उमेरका बालबालिकालाई मात्रै विद्यालय आउन दिने व्यवस्था गरिएको छ ।

प्राथमिक विद्यालय तह र पूर्वप्राथमिक तहका विद्यार्थीहरूलाई भने अझै पनि विद्यालय आउन अनुमति दिइएको छैन । “कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा नलगाएको र १२ वर्षभन्दा कम उमेरका व्यक्तिहरूलाई विद्यालय अझै पनि खुला गरिएको छैन,” एक अधिकारीले भने ।

उनीहरूलाई नयाँ शैक्षिकसत्रमा पनि अनलाइनमार्फत नै अध्यापन गराइने अधिकारीहरूले जानकारी दिएका छन् । कतिपय विद्यालयमा भौतिक उपस्थितिमैं भइरहेका अध्ययन अध्यापन कार्यको उपशिक्षामन्त्री साद बिन साउद अल फहिदले स्थलगत अवलोकन पनि गरेका छन् ।
उनीहरूको स्वास्थ्य सुरक्षाको सुनिश्चितता हुनेगरी उच्च सतर्कता अपनाउन उनले सबैलाई निर्देशन दिएका छन् ।

“हामीले सबै विद्यालयलाई नजीकबाट नियालिरहेका छौं, विद्यार्थीहरूको सुरक्षाको अवस्था र विद्यालयको व्यवस्थापनका बारेमा हाम्रो चासो छ,” उनले भने । विद्यालयमा विद्यार्थीहरूको प्रवेश, बस्ने व्यवस्था, बाहिरिने व्यवस्थालगायतमा विशेष ध्यान दिन सरकारी अधिकारीहरूले आग्रह गरेका छन् ।

विद्यालयका सबै गतिविधिमा सामाजिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न पनि विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई विशेष सतर्क गराइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here