बेइजिङ, १४ भदौ/सिन्ह्वा
अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चारजना बालबालिकासहित छजनाको ज्यान गएको छ ।
तालिबानहरूले सत्ता कब्जा गरेपछि केही दिन हिंसात्मक घटना नभएको अफगानिस्तानमा फेरि हिंसाका घटना हुन थालेका छन् ।
आइतवार काबुल विमानस्थलमा प्रहार गरिएको भनिएको रकेट बस्तीमा परेको र बस्तीको एक घरमा रहेका एकै परिवारका ती व्यक्तिहरूको ज्यान गएको छ ।
काबुल विमानस्थलमा अमेरिकी, बेलायती र अरू केही विदेशी विमानले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेका छन् ।
विमानस्थललाई नै लक्षित गरेर सो रकेट आक्रमण गरिएकामा सो रकेट बस्तीतर्फ पर्न गरेको बताइएको छ । पछिल्ला केही दिनमा काबुल विमानस्थलमा विस्फोट हुने गरेको छ ।
हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिम भागतर्फ स्थानीय समय अनुसार ४ः५५ सो रकेट प्रहार भएको थियो । एक अमेरिकी ड्रोन शहरमा उडिरहेको देखा परेपछि उक्त हमला भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
गत बिहीवार पनि विमानस्थलको पूर्वी गेटमा भएको आत्मघाती विष्फोटमा परी कम्तीमा १७० जना अफगान नागरिक र १३ जना अमेरिकी सैनिक मारिनुका साथै करीब २०० जना घाइते भएका थिए । उडानको पर्खाइमा रहेका ठूलो भीडबीचमा सो आक्रमण भएको थियो ।
अफगानिस्तानमा यही अगस्त १५ तारिखका दिन तालिबान विद्रोहीहरूले केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि हजारौं मानिसले अफगानिस्तान छाड्ने क्रम जारी रहेको छ । इस्लामिक स्टेट्स (आइएस)ले जिम्मेवारी लिएको यस आक्रमणमा परी मारिएकाहरू अधिकांश महिला र बालबालिका रहेका छन् ।
चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता
बेइजिङ/सिन्ह्वा
चीन र अमेरिकी विदेशमन्त्रीबीच आइतवार फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।
समाचार अनुसार उनीहरूबीचको फोनवार्ताका क्रममा चीन र अमेरिकाबीच द्विपक्षीय विविध विषयहरूमा कुराकानी भएको बताइएको छ ।
यसका अतिरिक्त उनीहरूबीचमा अफगानिस्तानको अहिलेको अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ ।
त्यस क्रममा उनीहरूबीचमा अफगानिस्तानमा अमेरिकीसहित नेटो सेनाको फिर्तीसँगै अफगानिस्तान अहिले निकै अप्ठ्यारो अवस्था रहेको विषयमा पनि कुराकानी भएको थियो ।
अमेरिकी सेनाहरू त्यहाँबाट निस्किसकेपछि हालको अफगानिस्तानको अवस्था गम्भीर रहेको अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बताएका थिए ।
साथै उनले अहिलेकै अवस्थामा अफगानिस्तानमा ठूलो सङ्ख्यामा रहेका विदेशी नागरिकलाई त्यहाँबाट उद्धार गर्नुपर्ने चुनौती बाँकी नै रहेको पनि बताए । यस्तो अवस्थामा सबै विश्व समुदाय र संयुक्त राज्य अमेरिकासमेत अफगानिस्तानमा रहेका विदेशी नागरिकलाई त्यहाँबाट सकुशल उद्धारका लागि बोल्नुपर्ने पनि उनले बताए ।
हाल अफगान नागरिकलाई उनीहरूको अवस्था तथा अधिकारका लागि विश्व समुदायले सहयोग गर्नुपर्नेमा पनि उनीहरूबीच कुराकानी भएको बताइएको छ । आगामी दिनमा पनि अफगान नागरिकको सुरक्षाका साथै उनीहरूको उद्धार र सहयोगका लागि पनि विश्व समुदायले काम गर्नुपर्ने तथा आगामी दिनमा तालिबानहरूले के कस्तो नीति अख्तियार गर्नेछन्, त्यसमा अफगानिस्तानको भविष्य निर्धारण हुने पनि उनीहरूबीच कुराकानी भएको सो समाचार समितिले जनाएको छ ।
अफगानिस्तानमा अहिले पनि १० हजारजनाभन्दा बढी विदेशी आफ्नो देश फर्किनका लागि बसेका छन् । उनीहरूलाई सुरक्षितरूपमा आफ्नो देश फर्किने व्यवस्थाका लागि आवश्यक सहयोग गर्न विश्व समुदाय र संयुक्त राष्ट्रसङ्घले बोल्नुपर्ने अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बताए । रासस