काबुल, अफगानिस्तान, १३ भदौ/एएनआई
अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)का सैनिकको अन्तिम उद्धार उडानसँगै शनिवारदेखि काबुल विमानस्थल प्रवेशमा तत्कालका लागि थप कडाइ गरिएकोे तालिबान समूहले बताएको छ ।
तालिबान समूहले अफगानिस्तानको राजधानीलगायत प्रायः सबै प्रान्त आफ्नो कब्जामा लिएपछि उनीहरूको शासन कठोर हुने त्रासले दैनिक हजारौंको सङ्ख्यामा अफगानीहरू बाहिरिने क्रम जारी रहेकै समय तालिबानी समूहले विमानस्थल प्रवेशमा कडाइ गरेको हो ।
तालिबान नेताहरूले विदेश पलायन हुन लागेका अफगानीहरूको देशमा नै सुरक्षाको प्रत्याभूत गरिने यसअघि नै बताउँदै आएका थिए । अफगानी नागरिकलाई स्वदेशमैं रही काम गर्ने वातावरण निर्माण गरिने, सरिया कानून अन्तर्गत रहेर महिलाहरूलाई अधिकार प्रत्याभूत गरिने र विदेशी कूटनीतिज्ञलाई सुरक्षाको प्रत्याभूत गरिनेलगायत प्रतिबद्धता तालिबानी नेताहरूले गरेका छन् ।
यद्यपि अतिवादी जिहादी समूहको भनाइजस्तो शासन हुनेमा कमैले विश्वास गरेका कारण ठूलो जनशक्ति विदेशिएको छ ।
शनिवारको सूचनामा काबुल विमानस्थलमा ‘आगामी २४–३६ घण्टामा अर्काे आतङ्ककारी हमलाको अत्यधिक सम्भावना’ रहेको अमेरिकी अधिकारीले चेतावनी दिएका छन् ।
यसैबीच, शनिवारदेखि नै विमानस्थलसम्म पुग्ने सडकका ठाउँठाउँमा अवरोध खडा गरेका छन्। ती स्थानहरूमा केही बर्दीधारी तालिबान सैनिकले ह्युमभेस र अफगान सुरक्षा बलबाट कब्जा गरेको नाइटभिजन चश्माद्वारा अवलोकन गरिरहेको युरोन्यूजले बताएको छ । विमानस्थल प्रवेश गर्ने सबै नाका तालिबानले नियन्त्रणमा लिई प्रवेशमा निकै कडाइ गरेको विमानस्थलमा कार्यरत एक अफगानी अधिकारीले नाम गोप्य राख्ने शर्तमा बताए ।
विमानस्थलमा गरिएको आक्रमणमा १७० जनाभन्दा बढीको ज्यान गुमेको बदलामा गत सप्ताहान्तमा अमेरिकी हवाई आक्रमणमा कन्धाहारमा इस्लामिक स्टेट (आइएस)लाई लक्षित गरी गरेको आक्रमणमा सो समूहका सदस्यहरूको मृत्यु भएको थियो । रासस