प्रस, पचगावाँ, १२ भदौ/
पुल नभएर खोला तरेर जानुपर्ने पर्साको ग्रामीण भेगमा अहिले वर्षा कम भएसँगै आवतजावत शुरू भएको छ । निरन्तरको वर्षाले जनता सडकखण्डमा पुल नभएको स्थानमा आवतजावत बन्द भएको थियो ।
वर्षाले खोलामा पानीको सतह बढेपछि आवतजावत बन्द भएको तर अहिले पानीको सतह कम भएपछि आवागमन चालू भएको स्थानीयले बताए । जनता सडकको रङ्गपुरटाँडीदेखि सिरहीसम्म र थरूहट सडकको सोनबर्सा, शङ्गरसरैया, महादेवपट्टि, बलुवाका मानिसहरूलाई आवतजावतमा खोलाको कारण समस्या भएको थियो ।
सोनबर्सा, तिलावे, ओरिया, सिंघाइ नदीमा पानीको बहाव बढेको कारण आवतजावतमा समस्या भएको थियो ।
यसैगरी, हुलाकी र गण्डक सडकमा पनि बाटो खराब भएकोले वर्षामा आवतजावत प्रभावित भएको छ । हुलाकी सडकको काम बाँकी रहेको ठाउँ र गण्डक नहरका थुप्रै स्थानमा खाल्डाखुल्डी परेर सवारीसाधन सञ्चालन र यात्रीहरू आवतजावतमा समस्या भएको छ ।
वर्षामा यी सडकखण्डमा आवतजावत प्रभावित हुने गरेको छ । हुलाकी सडकको काम चालू रहेको तर गण्डक सडकको दुरवस्था तथा स्थानीय पालिकाले मरम्मत सम्भारमा चासो नदेखाएको पटेर्वासुगौली गापा सोनबर्साका शिक्षक मुना तिवारीले गुनासो पोखे ।