काठमाडौं, १२ भदौ/रासस

सार्वजनिक बिदाका कारण यस साता धितोपत्र बजारमा तीन दिन मात्रै शेयर कारोबार भयो । आइतवार र सोमवार सार्वजनिक बिदाका कारण बजार बन्द रह्यो । मङ्गलवार, बुधवार र बिहीवार शेयर कारोबार भयो । यस साता जलविद्युत् कम्पनीको शेयरमा केही दबाब देखा प¥यो।

साताभर कुल २३२ कम्पनीको छ करोड ६६ लाख छ हजार ४७५ कित्ता शेयर कारोबार भयो । साताभरको कुल कारोबार रु ४१ अर्ब ६३ करोड ८५ लाख ४६ हजार ३५६ बराबर रह्यो । कारोबार भएका ती दिनमा पनि बजार उतारचढावपूर्ण अवस्थामा रह्यो ।

कारोबार भएको पहिलो दिन अर्थात् मङ्गलवार शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखियो । त्यस दिन विशेषगरी विकास बैंक र जलविद्युत् उपसमूहको शेयर मूल्यमा उच्च अङ्कको गिरावट देखियो ।

पछिल्ला दिनमा जलविद्युत् उपसमूहको शेयरमा अस्वाभाविक चलखेल भएको भन्दै गुनासो बढेको थियो । विद्युत् नियमन आयोगले समेत सो सम्बन्धमा चासो व्यक्त गरेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार मङ्गलवार नेप्से ५६.०३ बिन्दुले घटेर तीन हजार १२४.८७ मा ओर्लियो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२.८१ बिन्दुले घटेर ५७७.६६ मा घटेको छ ।

कुल २२५ कम्पनीको दुई करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर रु १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० मा कारोबार भयो । त्यस दिनको कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब ६६ अर्ब छ करोड १९ लाख १० हजार बराबरमा सीमित भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लाग्यो ।

विवरण अनुसार त्यस दिन १६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेपछि नकारात्मक सर्किट लाग्यो । मङ्गलवार जस्तै धितोपत्र बजारमा बुधवार पनि शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लाग्यो । त्यस दिन नेप्से ४८.४४ अङ्कले घटेर तीन हजार ७६.४४ मा ओर्लियो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६७ बिन्दुले घटेर ५६७.९९ मा ओर्लेको छ । नेप्सेसँगै कारोबार रकमसमेत खुम्चियो । कुल २२७ कम्पनीको एक करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर रु १२ अर्ब नौ करोड २१ लाख तीन हजार ५०४ मूल्यमा खरीद–बिक्री भयो ।

त्यस दिनको कारोबारपछि बजार पूँजीकरण रु ४२ खर्ब ९८ अर्ब ४० करोड ८९ लाख ६० हजार बराबर पुग्यो । सो दिन कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आयो । कारोबारका आधारमा अरुण–काबेली पावर शीर्ष स्थानमा रही रु ४८ करोड ७१ लाख पाँच हजार ३४६ बराबरको शेयर खरीद–बिक्री भयो । बिहीवार नेप्सेमा दोहोरो अङ्कको सुधार भयो । त्यस दिन नेप्से १७.६० अङ्कले बढेर तीन हजार ९४.०५ बिन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४० बिन्दुले बढेर ५७१.३९ मा पुगेको छ । नेप्सेले उचाइ प्राप्त गरे पनि कारोबार रकम भने उल्लेख्य वृद्धि भएन । कुल २३२ कम्पनीको दुई करोड १६ लाख ९० हजार ५८५ कित्ता शेयर रु १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७९२ मूल्यमा खरीद–बिक्री भयो ।

साताको अन्तिम दिनको कारोबारका आधारमा रु ४३ खर्ब २३ अर्ब ती लाख २७ हजार ६२२ बराबरको बजार पूँजीकरण पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लाग्यो ।

दुई दिन ओरालो लागेको नेप्सेमा सुधार आउँदा विभिन्न नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here