राजविराज, ११ भदौ/रासस

ढल निकासको उचित व्यवस्था नभएका कारण सामान्य झरी परेको बेलामा पनि सप्तरीको राजविराज नगरपालिका क्षेत्रका सडक डुबानमा पर्ने गरेका छन् । सडक डुबानका कारण नगरवासीलाई आवतजावत गर्न समस्या हुने गरेको छ ।

राजविराज नगरपालिकाको विकास कार्यले गति लिन नसक्दासमेत यहाँका सडक वर्षायाममा डुबान हुने गरेको पाइन्छ । मुलुककै पहिलो टाउन प्लानिङ शहरका रूपमा रहेको राजविराज नगरपालिका भारतको गुलाबी नगरले चिनिएको जयपुरको नक्शामा आधारित भएर यसको विकास गर्ने लक्ष्य लिइएको थियो ।

विसं २०१६ मा घोषणा भएको राजविराज नगरपालिका विगत दुर्ई/तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण जलमग्न छ । नगर प्रवेश गर्ने रूपनी सडक, कञ्चनरूप सडक, छिन्नमस्ता सखडा जाने सडक, हनुमाननगर सडक, सिराहा सडकलगायत अधिकांश भित्री सडकका विभिन्न ठाउँमा सानो/सानो खाल्डो भएको ठाउँमा पानी जमेको छ । सडकमा रहेका त्यस्ता खाल्डाखुल्डीले गर्दा सडक हुँदै बग्ने पानीले पनि साना–ठूला सवारीसाधन मात्र होइन, पैदल हिंड्ने मानिसलाई समेत सकस भएको छ ।

पानी निकासका लागि ढलको उचित व्यवस्थापन हुन नसक्दा सडकमा रहेका ठूलाठूला खाल्डामा पानी जमेर सवारीसाधन गुड्न निकै समस्या हुने गरेको गाडी चालक बताउँछन् । मुख्य बजार क्षेत्रकै सडक पनि जीर्ण भएका कारण दर्जनौं खाल्डा रहेका छन् । लगातारको वर्षाले नगरका सबै सडकमा पानी जमेको छ भने सडक हिलाम्मेसमेत बनेका कारण पैदल आवतजावत गर्दा हातमा चप्पल तथा जुत्ता बोक्नुपर्ने बाध्यता रहेको पैदल यात्रीले गुनासो गरेका छन् ।

राजविराजको पानीटङ्की सडकदेखि राममन्दिरसम्म सामान्य वर्षामा पनि पूरै सडक हिलाम्मे हुने गरेको छ । फलस्वरूप सवारीसाधन र सर्वसाधारण मानिसलाई हिंड्नसमेत सास्ती भोग्नुपर्ने बाध्यता रहेको राजविराजका श्रवण दासले बताए । एकातिर सडकमा जताततै खाल्डाखुल्डी अर्काेतिर जमेको पानी निकासको व्यवस्था नहुँदा आवागमनमा समेत निकै समस्या हुने गरेको पाइएको छ । नाला निर्माण भरहेका ठाउँमा पनि पानीको निकास नहुँदा नगरवासी थप समस्यामा परेको बताइएको छ ।

जथाभावी फालिएका फोहरको उचित व्यवस्थापन हुन नसक्दा अहिले सडकमा जमेको पानीमा ती फोहर मिसिएर फैलिंदा रोगसमेत फैलिन सक्ने सम्भावना बढेको राजविराज नगरपालिका–३ का बिन्दु चौधरीले बताए । नगरपालिकाको विकास कार्य कछुवा गतिमा भइरहेको हुँदा अहिले फोहरका कारण नालाहरूसमेत पुरिएको अवस्थामा रहेको स्थानीयवासीको भनाइ छ ।

शहर अव्यवस्थित हुँदा सुक्खायाममा धूलो र वर्षायाममा पानी र हिलाम्मे हुने गरेका कारण नगरवासीलाई सास्ती बेहोर्नुपरेको छ । सडक दुरवस्थाबारे जनप्रतिनिधि, सडक विभाग र ठेकेदार सबै चुप लागेर बस्दा नगरवासी सास्ती खेप्न बाध्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here