नयाँ दिल्ली, ९ भदौ/एएनआई
सरकारी अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा भारतमा ३७ हजार ५९३ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका छन्। सङ्क्रमितको सङ्ख्या २४ हजार २९६ जना केरला राज्यको रहेका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधवार जनाएको छ।
योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या तीन करोड २५ लाख १२ हजार ३६६ जना पुगेको छ। पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्या २५ हजारदेखि ४० हजारको बीचमा रहँदै आएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ६४८ जनाको मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोना शुरू भएयता अहिलेसम्म कुल चार लाख ३५ हजार ७५८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ।
मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ३४ हजार १६९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म कोरोनामुक्त सङ्ख्या तीन करोड १७ लाख ५४ हजार २८१ पुगेको सो मन्त्रालयले जनाएको छ। यहाँ हाल ९७.६७ प्रतिशत सङ्क्रमित कोरोना भाइरसबाट मुक्त भएका छन्।
भारतमा अहिले सङ्क्रमित अवस्थामैं रहेकाको सङ्ख्या भने तीन लाख २२ हजार ३२७ पुगेको अधिकारीले जनाएका छन्। यो सङ्ख्या कुल सङ्क्रमितको ०.९९ प्रतिशत हो।
भारतमा सबै राज्यलाई अगस्तभरि थप दुई करोड मात्रा खोप उपलब्ध गराइने–स्वास्थ्यमन्त्री
भारतका केन्द्रीय स्वास्थ्यमन्त्री मनसुख माण्डभियाले सबै राज्यमा अगस्त महीनाभर थप दुई करोडभन्दा बढी खोपको मात्रा उपलब्ध गराइने बुधवार जानकारी दिएका छन्।
केन्द्र सरकारले सबै राज्यका शिक्षकलाई आगामी ५ सेप्टेम्बरमा मनाइने शिक्षक दिवसभन्दा पहिले खोप लगाउने प्रयास गर्न अनुरोध गरेको पनि स्वास्थ्यमन्त्री माण्डभियाले ट्वीटरमार्फत बताएका छन्।
यस महीनामा प्रत्येक राज्यलाई दुई करोडभन्दा बढी कोरोना भाइरसविरुद्धको खोपको मात्रा र अतिरिक्त खुराक उपलब्ध गराउने योजना भएको उनले जानकारी दिए।
त्यसैगरी, भारतमा अगस्त २४ सम्म कुल ५९ करोड ५५ लाख चार हजार ५९३ मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको छ। रासस