प्रस, सिम्रौनगढ, ९ भदौ/
सिम्रौनगढ नगरपालिका आसपासका किसानहरू अहिले मलको विषयलाई लिएर चिन्तित भएका छन्। अगहनी धान रोपेका किसानहरू युरिया मलको अभाव झेल्दैछन्।
सामान्य अवस्थामा भारतबाट मल ल्याएर अभाव पूर्ति गर्दै आएका सीमा क्षेत्रका किसानहरू अहिले दुवैतर्फका सुरक्षाकर्मीको क्रियाकलापका कारण पारि गएर मल ल्याउन सकेका छैनन्।
नेपालको सशस्त्र प्रहरी र भारतको एसएसबीले मल ल्याउँदा दुःख दिने, भन्सार चलान गर्ने जस्ता कार्य गरेपछि किसानहरू सीमापारि भारतबाट मल ल्याउन सकेका छैनन्।
सिम्रौनगढ क्षेत्रमा भने मलको अभावसँगै मूल्य दोब्बर भएको छ। सिम्रौनगढ, खजानी, हरिहरपुर, गङ्गानगर, देवापुर टेटा, च्युटाहा, हर्नैया, टेडाकट्टी, कचोर्वा र थरुहट क्षेत्रका भित्री भागमा युरिया मलको अभाव छ।
अहिले किसानहरूले प्रतिबोरा रु ८ सय पर्ने युरिया मललाई रु १६ सय तिर्नुपरेको बताएका छन्। नेपाली किसानहरूले मल अभाव हुँदा भारतको घोडासहन, छौडादानो, आधापुर, जयमूर्तिनगर, जमुनिया, चैनपुरबाट एक/दुई बोरा मल ल्याएर अभाव पूर्ति गर्दै आएका थिए। स्थानीय डिलरहरूले भने अहिले मल कुन बेला ल्याउँछन् र कुन बेला बिक्री गर्छन् किसानहरूले थाहा पाउँदैनन्। डिलरहरूले आफूखुशी गोप्यरूपमा मल बिक्री गरिरहेको किसानहरूले आरोप लगाएका छन्। बढी मोल लिएर डिलरहरूले कालोबजारी गरिरहे पनि नियन्त्रणका लागि स्थानीय निकाय चनाखो नभएको किसानहरूले गुनासो गरे।
पालिकास्तरमा डिलरहरूबाट वितरण हुने मलको हरहिसाब नहुँदा डिलरहरूले आफूखुशी मलको कालोबजारी गरिरहेको किसानहरूको आरोप छ।