काठमाडौं, ९ भदौ/रासस
नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)मा जारी एएसबिसी एशियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनशिपमा तीनवटा कांस्य पदक प्राप्त गरेको छ। कांस्य पदक प्राप्त गर्नेमा दुईजना महिला र एकजना पुरुष खेलाडी रहेका छन्।
छिरिङ वाङ्दी शेर्पाले पुरुष ५४ किलोमा कांस्य पदक प्राप्त गरेका हुन्। उनी सेमिफाइनलमा कजाकिस्तानका एडाइबेक नियाजबेसित पराजित भए। यसअघि उनले कुवेतका मोहम्मद अलिनेजीलाई हराउँदै कांस्य पदक पक्का गरेका थिए। जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ५–० अङ्कले पराजित गरेका थिए।
नेपाली टोलीका साथ रहेका ओलम्पियन एवं प्रशिक्षक डम्बरदत्त भट्टका अनुसार जुनियरतर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका तिरुवा र महिला ५७ किलोमा नारिका राईले पनि कांस्य पदक प्राप्त गरे। प्रतियोगितामा नेपालबाट शेर्पा, तिरुवा र राईसँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरीले प्रतिस्पर्धा गरेका थिए।
गत महीना ललितपुरको सातदोबाटोमा सम्पन्न प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो। टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज सहभागी छन्। टोलीको व्यवस्थापक नेपाल बक्सिङ सङ्घका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राई रहेका छन्। प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ।