सुषमा शर्मा, वीरगंज,९ भदौ/
जिल्ला प्रहरी कार्यालय, पर्साले गत आव ०७७–०७८ मा सीमा नाकाबाट महिला, बालबालिका गरी १०८ जनाको उद्धार गरेर घर फर्काएको जनाएको छ। पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले ८५ जना महिला, एकजना बालक र २२ जना बालिकाको उद्धार गरी घरपरिवारको जिम्मा लगाइएको बताए। उनले चालू आवको भदौ ५ गतेसम्म १८ जना महिला र चारजना बालिका गरी २२ जनाको उद्धार गरिएको बताए। यसैगरी गत आवमा महिला, बालबालिका र ज्येष्ठ नागरिकबाट घरेलु हिंसासम्बन्धी ठाडो निवेदन र उजूरी ६३८ वटा परेको र तीमध्ये ३६८ वटा फर्छोट भइसकेको उनले बताए। गत वर्ष ज्येष्ठ नागरिकले घरेलु हिंसा सम्बन्धमा १० वटा उजूरी दिएकोमा पाँचवटा फर्छोट भएको र ११ वटा ठाडो निवेदन दिएकोमा पाँचवटा फर्छोट भएको प्रवक्ता खनालले बताए।
गत वर्ष घरेलु हिंसासम्बन्धी ५१६ वटा उजूरी दर्ता भएकोमा ३४८ वटा फर्छोट भएको र १६८ जना सम्पर्कमा नआएको बताए। उनले गत आवमा सबैभन्दा बढी आत्महत्याका ७४ वटा घटना भएको बताए। यसैगरी जबरजस्ती करणीको ३७, जबरजस्ती करणी उद्योगमा ७, बालयौन दुरुपयोगका ७, कर्तव्यज्यानका ७, अपरहरण, जबरजस्ती करणीका तीन, बहुविवाहका तीन, बालविवाहका दुई, दाइजोको एउटा उजूरी दर्ता भएको बताए।
गत आवमा महिला झैंझगडा, कुटपिट अन्य निवदेन (सामाजिक हिंसा) ६८६ वटा दर्ता भएको, ३७८ फर्छोट भएको र ३०६ जना सम्पर्कमा नआएका प्रवक्ता खनालले बताए। प्र्रवक्ता खनालले गत आवको चैत मसान्तसम्म ६ जना ज्येष्ठ नागरिक हराएको निवदेन परेको र चारजनालाई प्रहरीले फेला पारेको तथा दुईजना आफैं घर फर्केको बताए। यसैगरी ४६ जना महिला हराएकामा २५ जनालाई प्रहरीले फेला पारेको, ११ जना आफै फर्केका र १० जना हालसम्म फेला नपरेका बताए। यो अवधिमा २५ जना बालक हराएका र एकजना मृत फेला परेको, २५ जनालाई प्रहरीले फेला पारेको तथा ११ जना आफैं फर्केका र सातजना अहिलेसम्म बेपत्ता रहेको उनले बताए। बालिका भने ७२ जना हराएका र ३५ जनालाई प्रहरीले फेला पारेको र १५ जना आफैं घर फर्केका तथा २२ जना अझै फेला पर्न नसकेको प्रवक्ता खनालले जानकारी गराए।