काठमाडौं, ९ भदौ/रासस
निर्वाचन आयोगले तोकेकै समयमा पुगेर महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ दल दर्ताका लागि निवेदनमा उल्लेख भएकाको नाममा सनाखत गरेको छ। आयोगले अपराह्न २ बजेसम्मका लागि दिएको समयभित्रै पुगेर नेताहरूले सनाखत गरेका हुन्। नयाँ दल दर्ताका लागि जनता समाजवादी पार्टी (जसपा)का ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जनाले सनाखत गरेका छन्। यो कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत हो।
यस्तै, राष्ट्रियसभाका तीन र प्रतिनिसिभाका ३४ गरी ३७ सांसदमध्ये १५ जना अर्थात् करीब ३७ प्रतिशतले सनाखत गरेको जनाइएको छ। उक्त पार्टीका दुर्ईजना सांसद भने हाल निलम्बित छन्।
प्रस्तावित पार्टीको अध्यक्षमा महन्थ ठाकुर र वरिष्ठ नेतामा राजेन्द्र महतोलाई प्रस्ताव गरिएको छ। पार्टीमा ३१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहनेगरी नामावली बुझाइएको छ। पार्टीको चुनाव चिह्न भने साइकल प्रस्ताव गरिएको छ।
सनाखतपछि पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा ठाकुरले कानूनी मान्यताका लागि सनाखत गर्न आयोगले बोलाएकोले समयमैं उपस्थिति भएर सनाखत गरेको जानकारी दिए। उनले दर्तापछि नयाँ पार्टीलाई सशक्त लोकतान्त्रिक शक्तिको रूपमा अघि बढाउने जानकारी दिए। सरकारले हालै ल्याएको अध्यादेशमा दल विभाजन हुन केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे हुने प्रावधान रहेको छ।