बलिराम शुक्ल, बिरुवागुठी, ८ भदौ/
पर्सागढी नगरपालिकाबाट सञ्चालित सार्वजनिक सवारीसाधनहरूको भाडा तय गरिएको छ।
पर्सागढी नपा–१ मनवा बजारमा आज बसेको सर्वदलीय बैठकले सार्वजनिक सवारीसाधनहरूको भाडा तय गरेको हो। बैठकले सबैको सहमतिमा छोटो दूरीको तीन किलोमिटरसम्म सञ्चालन हुने सवारीसाधनको हकमा रु १५ भाडा तय गरेको छ।
यसैगरी, पर्सागढीबाट सञ्चालित सार्वजनिक सवारीसाधनहरूले प्रतिकिलोमिटर रु ५ को दरले लामो दूरीको सवारीमा भाडा लिन पाइने सहमतिपछि निर्णय भएको हो।
जनता सडकमा सञ्चालित सवारीसाधनमा यो नियम लागू हुने र यसको अनुगमनको लागि नन्दलालदास थारूको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन गरिएको छ। सार्वजनिक सवारीसाधनहरूले तोकिएको सिट सङ्ख्याभन्दा बढी यात्री राख्न नपाइने, भाडा लिन नपाइने र नियमविपरीत काम गर्नेविरुद्ध अनुगमन समितिले अनुगमन गरी कारबाई गर्न सक्ने निर्णय गरिएको छ।
सर्वदलीय बैठक वडाध्यक्ष तुलाराम महतोको अध्यक्षतामा बसेको थियो भने अर्का वडाध्यक्ष वेदमानदास थारू, उद्धवबहादुर उप्रेती, समसुद्दीन देवान, रामनारायण गौरो, नगरपालिकाका प्रतिनिधि प्रदीप चौरसियालगायत स्थानीयहरूको सहभागिता थियो।