प्रस, परवानीपुर, ८ भदौ/
पर्साका तीनवटा नगरपालिकामध्ये बहुदरमाई नगरपालिकाले सूचना लुकाएको आरोप लागेको छ।
स्थानीयहरूले विभिन्न शीर्षकमा गत आव २०७७/७८ मा कुन कुन योजनामा कति कति बजेटको कसले, कति काम ग–यो भन्ने विषयमा माग गरिएको सूचना नगरपालिकाले लुकाएको हो। नगरपालिकामा सूचनाको अधिकार प्रयोग गर्दै लिखित निवेदन दिएको एक महीना बित्दा पनि कार्यालयका सूचना अधिकारी पार्वती पौडेल र प्रमुख प्रशासकीय अधिकृत विदुर उप्रेतीले सूचना लुकाएको बहुदरमाई नपा–२ का सूचना माग गर्ने निवेदक नागेन्द्रप्रसाद यादवले गुनासो गरे। उनका अनुसार साउनको दोस्रो सातामैं माग गरिएको सूचना हालसम्म उपलब्ध नभएकाले पटक–पटक गरी १२ वटा शीर्षकमा जानकारी प्राप्त गर्न विभिन्न ताकेतापत्र र निवेदन दिंदा पनि नपाले कुनै सुनवाइ नगरेको र सूचना दिन आलटाल गरिरहेको आरोप लगाए।
गाउँलेहरूले सूचना नदिए जिल्ला प्रशासन कार्यालय, पर्सा, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडा र काठमाडौंस्थित सूचना आयोगको कार्यालयमा निवेदन दिने बताएका छन्।
यस विषयमा नपाका प्रमुख प्रशासकीय अधिकृत उप्रेतीले नगरपरिषद्को धपेडीले गर्दा सूचना माग गर्न आएका सेवाग्राहीलाई सूचना दिन नभ्याएको र एक/दुई दिनमैं सूचना दिने बताए।