काबुल, ८ भदौ/सिन्हवा

तालिबान समूहले यहाँको शासन सत्ता हातमा लिएपछि नयाँ सरकार गठनबारे छलफल गरिरहेको बताइएको छ।

तालिबानका संस्थापकमध्ये एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि गत शनिवार नै राजधानी काबुल पुगेको बताइएको छ।

अफगानिस्तानका अधिकारीलाई उद्धृत गर्दै यहाँका स्थानीय सञ्चारमाध्यमले तालिबानीले नयाँ सरकार गठनका लागि आवश्यक परामर्श थालेको जनाएका छन्।

गनी बरादर तालिबानका प्रभावशाली नेताका रूपमा चिनिन्छन्। उनले नै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने विषयमा यस अघिको शान्ति वार्ताका क्रममा तयार गरेको सम्झौतामा हस्ताक्षर गरेका थिए।

यति बेला विश्व समुदायले नै अफगानिस्तानमा गठन हुने तालिबानी सरकार कस्तो हुन्छ भन्नेबारे निकै चासोका साथ हेरेका छन्। उता तालिबानी अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने बताइरहेका छन्।

तालिबानीहरूको यो भनाइप्रति भने विश्व समुदाय विश्वस्त हुन सकेको छैन। यो वाचा गरेको भए पनि यसबारे धेरैमा आशङ्का रहेको छ। यसै कारण पनि जतिसक्दो चाँडै सरकार गठन गर्न तालिबानी लागिपरेका बताइएको छ।

यतिखेर तालिबानले अशरफ घानीको पूर्ववर्ती सरकारसँग मिलेर सङ्कट व्यवस्थापन गरिरहेको बताइएको छ।

बरादरबाहेक कट्टरवादी धारका हक्कानी नेटवर्कका नेता खलिल हक्कानी पनि यतिबेला काबुलमा छन्। उनको नाम अमेरिका र संयुक्त राष्ट्रसङ्घको फरार आतङ्कवादीको सूचीमा पनि रहेको छ।

अघिल्लो हप्ता अफगानिस्तानलाई तालिबानी लडाकूले कब्जा गरेपछि अफगानिस्तान बाहिरसमेत रहेका उच्च तालिबानी नेता स्वदेश फर्कन थालेका छन्।

तालिबानका कतिपय नेता कतारमा रहेका बताइएको थियो। उनीहरू पनि अहिले स्वदेश फर्किरहेका छन्।

हाल तालिबानका चार संस्थापक नेता रहेका बताइएको छ र तीमध्ये एकजना बरादर रहेका र उनी गत शनिवार पहिले कन्धार विमानस्थल आएर त्यसपछि काबुल ओर्लिएको बताइएको थियो।

अफगानिस्तानको कन्धार शहरमा धेरै तालिबानी छन्। तालिबानीहरू कन्धारलाई आफ्नो उद्गमस्थल मान्ने गर्दछन्। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here