काबुल, ८ भदौ/एएफपी
काबुल विमानस्थल अहिले पनि अव्यवस्थित भीड र भागदौडका कारण अस्तव्यस्त रहेको बताइएको छ।
यहाँ गत आइतवार मात्र कम्तीमा सातजना अफगान नागरिकको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको थियो। यहाँ अफगान र विदेशी नागरिकको ठूलो भीड लागेको छ।
अफगानिस्तानको सत्तामा तालिबानी आएपछि एकैपटक हजारौं मानिस देश छोडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भीड लाग्ने गरेको छ। गएको हप्तादेखि काबुल अन्तर्राष्ट्रिय विमानस्थल निकै अव्यवस्थाबीच चलिरहेको बताइएको छ।
अगस्त १५ मा तालिबानीले सत्ता कब्जामा लिएपछि संयुक्त राज्य अमेरिका र अफगानिस्तानका सहयोगी राष्ट्रहरूले करीब एक हप्तादेखि सञ्चालनमा ल्याएको उद्धार उडानमा जान ठूलो सङ्ख्यामा मानिस सङ्घर्ष गरिरहेका छन्।
काबुल, काबुल विमानस्थल र वरपरको अवस्था अत्यन्तैै चुनौतीपूर्ण रहे पनि मानिसले सुरक्षित व्यवस्थापनको माग गरिरहेका छन्। यहाँको प्रशासनले सक्दो प्रयास गरिरहेको बताए पनि एकैपटक धेरै मानिसले देश छोड्न खोज्दा सम्भव नहुने भएकाले यहाँ अव्यवस्था देखिएको हो। रासस