राधेश्याम पटेल, परवानीपुर, ६ भदौ/

वीरगंज महानगरले लगाएको सवारी व्यवस्थापन कर खारेजीको माग गर्दै वीरगंजका उद्योगी–व्यवसायीले अदालतमा मुद्दा हाल्ने तयारी गरेका छन् ।

गैरकानूनी करको संज्ञा दिंदै पटक–पटक व्यवसायीले महानगर, स्थानीय प्रहरी प्रशासन तथा माथिल्लो निकायको ध्यानाकक्र्षण गराउँदै आए तापनि महानगर गम्भीर नबनेकोले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजमा मुद्दा हाल्ने तयारी गरेको वीरगंज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

सङ्घको कर समिति संयोजक सुरेश रूँगटाका अनुसार केही दिनमा अदालतमा मुद्दा हालेर अवैधानिक कर असुल्ने महानगरको रवैयाप्रति अङ्कुश लगाउने बताए । महानगरले केन्द्र सरकारले बनाएको सडक भएर गुड्ने सवारीसाधनसँग पटके सवारीकर सरह नै सवारी व्यवस्थापन कर असुल्दै आएको छ ।

चालू आव २०७८/७९ को लागि आश्रय निर्माण सेवा वीरगंजले रु ६ करोड ११ लाखमा सवारी व्यवस्थापन करको ठेक्का लिएको छ । गत आवमा रु ५ करोड ९० लाखमा सवारी व्यस्थापन करको ठेक्का लागेको थियो । ठेकेदारले अहिले वीरगंज महानगरका करीब एक दर्जन स्थानमा ढाठ खडा गरी एउटा गाडीसँग एकपटकको लागि रु सयदेखि साढे तीन सयसम्म शुल्क लिने गरेको छ ।

सङ्घ सरकारको सामान्य प्रशासन मन्त्रालय र महालेखा परीक्षकको कार्यालयले समेत महानगरले असुल्ने सवारी व्यवस्थापन कर महानगरको काम, कर्तव्य र अधिकार क्षेत्र बाहिरको भएकोले खारेज गर्न विगतमा निर्देशन दिए तापनि निर्देशनको महानगरले अवहेलना गरेर जबरजस्ती कर असुलिरहेको वीरगंज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष माधव राजपालले बताए । उनले अहिले चार चक्के, छ चक्केदेखि २२ चक्केसम्म ट्रक, ट्याक्टर, बस, जीप, भ्यानलगायतका सवारीसाधनसँग कर असुलिरहेको बताए ।

वीरगंजको ड्राइपोर्ट गेट, हरपतगंज, वीरगंज भन्सार पुरानो गेट, आइसिपी गेट, पद्म चोक, गण्डक नहर, जगरनाथपुर, रजतजयन्ती चोक, भिस्वा चोक, रेलवे लाइन सडक (इनर बाइपास) लक्ष्मनवा नहर, मिलन चोक, रानीघाट पुल चोकलगायतका ठाउँमा ठेकदारका कर्मचारी खटेर कर असुलिरहेका छन् ।

यस विक्षयमा वीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलासँग बुझ्दा उनले स्थानीय सरकारलाई पनि नीति नियम बनाएर कर उठाउने अधिकार भएको बताए । उनले अदालतमा मुद्दा परे महानगरले पनि आफ्नो तर्क राख्ने बताए । उनले यथावस्थामा सवारी व्यवस्थापन कर उठाउने कार्य बन्द नहुने बताए ।

वीरगंजका दुई भन्सार अन्तर्गतको तीनवटा नाका हुँदै दैनिक एक हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here