मकवानपुर, ६ भदौ/रासस

अपहरणमा परेका दुईजना युवकलाई भारतबाट प्रहरीले उद्धार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्धार गरेर उनीहरूलाई नेपाल ल्याएको हो । उद्धार गरिनेमा हेटौंडा उपमहानगरपालिका–९ स्वागत टोलका २३ वक्र्षीय गोविन्द श्रेष्ठ र २२ वक्र्षीय पवन रानामगर रहेका छन् । दुवैजनालाई सकुशल उद्धार गरी आज परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरूलाई भदौ ३ गते राति साढे ९ बजे हेटौंडा बसपार्कबाट तीनजना भारतीय नागरिकले अपहरण गरेका थिए । अपहरण गरेर उनीहरूलाई भारत लगेको खुलेपछि नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोगमा शनिवार राति भारतको बिहार राज्यको मोतीहारीबाट अपहरणमुक्त गराएको प्रहरीले जनाएको छ । भारतीय प्रहरीले अपहरणमा संलग्न दुईजनालाई दुई थान हतियारसहित नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब उपरीक्षक रिमालले भने, “अपहरणमुक्त भएका दुवै युवक लागूऔक्षध प्रयोगकर्ता भएको खुलेको छ । अपहरण गर्नेहरू पनि चिनजानकै हुन् । अपहरण भएको दिन उनीहरू सँगै बसेर कुराकानी गरेको देखिएको छ ।” उनका अनुसार अपहरणकारीले उनीहरूसँग प्रतिव्यक्ति पाँच लाख भारतीय रुपैयाँ फिरौती माग गरेका थिए ।

फिरौती नपाए मिर्गाैला बेचिदिने भन्दै यातनासमेत दिने गरेको पाइएको प्रहरीले जनाएको छ । भारतीय प्रहरी र नेपाल प्रहरीको संयुक्त प्रयासमा उनीहरूको उद्धार गरिएको उनको भनाइ छ । उक्त घटनाको विक्षयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here