वीरगंजमा भदौ २५ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १८ भदौ/
    वीरगंज महानगरपालिकामा साउन १० गतेदेखि लागेको निषेधाज्ञा भदौ २५ गते राति १२ बजेसम्मको लागि लम्ब्याइएको छ।
    जिल्ला प्रशासन कार्यालय, पर्साले आज सूचना जारी गर्दै भदौ २५ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा लम्ब्याएको जानकारी गराएको छ। निषेधाज्ञा अवधिमा मुख्य सडकमा पूर्व फर्केका र लिङ्क रोडमा दक्षिण फर्केका पसलहरू सोमवार, बुधवार, शुक्रवार तथा मुख्य सडकमा पश्चिम फर्केका र लिङ्क रोडमा उत्तर फर्केका पसलहरू आइतवार, मङ्गलवार, बिहीवार बिहान ११ देखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न पाउने जनाएको छ।
    यसैगरी, तरकारी, फलफूलको हकमा रेलवे सडकमा स्थित पुरानो प्रौढ रात्रि मावि हाल माईस्थान विद्यापीठ माविदेखि दक्षिणतर्फ एकतर्फी मात्र सञ्चालन गर्न भनिएको छ। दुई पसलको दूरी न्यूनतम १५ फिट हुनुपर्ने जनाइएको छ। बिहान ५ देखि ८ बजेसम्म तरकारी, फलफूल पसल सञ्चालन गर्न र शनिवार सबै पसल पूर्णरूपमा बन्द गर्नुपर्ने सूचनामा उल्लेख छ। तोकिएको स्थान र समयबाहेक खोलिने पसल सञ्चालकहरूलाई कानूनबमोजिम कारबाई गर्ने चेतावनी दिइएको छ।
    सामाजिक दूरी कायम गरेर भीडभाड नहुने गरी स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाइ पसल सञ्चालन गर्न भनिएको छ।  
    यो अवधिमा सार्वजनिक तथा निजी सवारीसाधनहरू सञ्चालन निषेध गरिएको छ। यसैगरी, मेला, महोत्सव, जात्रा, सभा, जुलुस पनि निषेध गर्दै चारजनाभन्दा बढी मानिस एक ठाउँमा भेला हुन रोक लगाइएको छ। घरमा पूजापाठ गर्नेबाहेक मठ, मन्दिर, मस्जिदमा पूर्ववत्रूपमा लगाइएको रोकलाई यथावत् राखिएको छ। शैक्षिक संस्था, प्रशिक्ष्Fण केन्द्र, ट्युशन सेन्टर, भाषा कक्षालगायतका गतिविधिमा रोक यथावत् छ। सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, सपिङ मल, डिपार्टमेन्टल स्टोर, सैलुन, ब्युटीपार्लर, स्विमिङ, जिमखाना, खेलकूद, पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको छ। चियापसल, रेस्टुराँ, होटल सञ्चालन गर्न पनि पाइँदैन।
    यसअघि जिल्ला सुरक्षा समिति र सङ्कट व्यवस्थापन केन्द्रको भदौ १२ गते सम्पन्न बैठकले जिल्लामा साउन १९ गतेदेखि लगाएको निषेधाज्ञा भदौ १४ गतेदेखि हटाएको थियो भने महानगरमा लगाएको निषेधाज्ञा यथावत् राखिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस