वाशिङ्टन, ३२ साउन/एएनआई
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनको राजीनामा मागेका छन्। अफगानिस्तानबाट अशरफ घानी नेतृत्वको सरकार परास्त हुनुमा बाइडेन प्रशासन जिम्मेवार रहेको भन्दै उनले बाइडेनको राजीनामा मागेका हुन् ।
अफगानिस्तानमा शान्तिपूर्ण र सफलतापूर्वक घानी सरकारलाई टिकाइराख्न र तालिबान लडाकूहरूलाई पराजित गर्न बाइडेन प्रशासन असफल भएको ट्रम्पको भनाइ छ ।
आइतवार जारी गरेको वक्तव्यमा ट्रम्पले लेखेका छन्, “अफगानिस्तानमा देखिएको असफलताका कारण अब बाइडेनले राजीनामा दिनुपर्ने बेला आएको छ ।” अफगानिस्तानमा अहिले जे भइरहेको छ, त्यो सबैको दोषी बाइडेन प्रशासन नै भएको ट्रम्पको आरोप छ । आफू यो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित भएको भए अफगानिस्तानमा यस्तो अवस्था नआउने आशय पनि उनले व्यक्त गरेका छन् ।
अफगानिस्तानका राष्ट्रपति घानीले देश छोडेको र तालिबान लडाकूहरूले सत्ता कब्जा गरेको थाहा पाउनासाथ ट्रम्पले यस्तो वक्तव्य जारी गरेका हुन् ।
तालिबान विद्रोहीहरू देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उनले देश छाडेका हुन् । देश छाडेपछि उनले थप रक्तपात हुन नदिन र अरू लाखौंको मृत्यु हुने घटनाबाट जोगाउनका लागि आफूले शान्तिपूर्ण तरीकाले देश छोडेको स्पष्ट पारेका छन् ।
स्रोतका अनुसार अब तालिबान लडाकूहरूकोतर्फबाट अली अहमद जलाली देशको अन्तरिम राष्ट्रपति बन्नेछन् । तालिबान लडाकूहरूले १० दिनको अवधिमा अफगानिस्तानका प्रमुख शहरहरू नियन्त्रणमा लिएका छन् । उनीहरूले नयाँ सरकार गठनका लागि आन्तरिक गृहकार्य गरिरहेको जनाइएको छ । रासस