काबुल, ३२ साउन/सिन्ह्वा
अफगानिस्तानको राजधानी काबुल त्यहाँका सशस्त्र विद्रोही तालिबानीहरूले कब्जामा लिएका छन् । उनीहरू आइतवार साँझ राजधानी काबुल प्रवेश गरेका हुन् ।
त्यसलगत्तै उनीहरूले यहाँका राष्ट्रपतिको निवास पनि कब्जा गरेका छन् । त्यसको केही क्षणअघि राष्ट्रपति अशरफ घानीले देश छोडेको बताइएको छ ।
उनी देश छोडेर कहाँ गएका हुन् भन्ने विषयमा केही बताइएको छैन । यस विषयमा अफगानिस्तानको सरकारले पनि केही भनेको छैन ।
तर अफगानिस्तानको नेशनल रिकन्सिलिएसन काउन्सिलका प्रमुख अब्दुल्लाह अब्दुल्लाहले आफ्नो फेसबूक पेजमा राष्ट्रपति घानीले देश छोडेका भन्दै त्यसको भिडियो पोस्ट गरेका छन् ।
अफगानिस्तानका राजधानीतर्फ तालिबानी विद्रोहीहरू प्रवेश गरेपछि अफगानिस्तानका गृहमन्त्रीले अफगान सरकार शान्तिपूर्णरूपमा तालिबानीहरूलाई सत्ता हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।
तर त्यसअगावै राष्ट्रपति घानीले देश छोडेको बताइएको छ । आइतवार राति नै तालिबानीहरू काबुलस्थित राष्ट्रपति निवासमा प्रवेश गरेका थिए । उनीहरूले आइतवार राति राष्ट्रपति कार्यालय र निवास कब्जामा लिएको जानकारी गराएका छन् ।
आइतवार रातिदेखि नै राष्ट्रपति निवासमा अफगान सरकार र तालिबानीका प्रतिनिधिहरूबीच शुरू भएको वार्ता सोमवार बिहानसम्म जारी रहेको बताइएको छ ।
सो वार्तामा तालिबानीहरूलाई वैधानिकरूपमा सत्ता हस्तान्तरण गर्ने विषयमा कुराकानी भइरहेको अनुमान गरिएको भएपनि यस विषयमा सरकारकोतर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।
उता तालिबानीहरूले भने अब छिट्टै अफगानिस्तानको सत्ता सम्हाल्ने बताएका छन् । उनीहरूले अब छिट्टै इस्लामिक राज्य स्थापनाको घोषणा गर्ने बताएका हुन् ।
तालिबानीहरूले आफ्ना लडाकूहरूलाई राजधानी काबुल प्रवेश गर्न अनुमति दिएका थिए । त्यसपछि आइतवार साँझ नै उनीहरू काबुल आएका हुन् । यहाँ हिंसा हुने खतराले गर्दा राति ९ बजेदेखि बिहानसम्म कफ्र्यू आदेश जारी गरिएको बताइएको छ ।
आइतवारदेखि सोमवार बिहानसम्म पनि अफगानिस्तानबाट विभिन्न देशले आफ्ना नागरिकलाई स्वदेश फर्काएका छन् ।
त्यसैगरी, अफगानिस्तानमा रहेका कैयौं विदेशी नागरिक आफैं पनि आफ्ना देश फर्किरहेका छन् । उता तालिबानीहरूले भने कसैसँग बदला नलिने भन्दै आफूहरूसँग नडराउन भनिरहेका छन् । रासस